नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले लोकतन्त्र- गणतन्त्र स्थापनापछि महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धिहरू हासिल भए पनि यसले अनेकौँ उतार चडावपूर्ण मोडहरू पार गर्दै अगाडि बढिरहेको बताउनु भएको छ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा यस्तो बताउनु भएको हो।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभएको छ, ‘देखिने र कतिपय बेला नदेखिने, देशभित्रका र बाहिरका पनि शक्तिहरूद्वारा सृजित समस्याहरूसित योग्यतापूर्वक जुद्धै र परिपक्वता प्राप्त गर्दै अहिलेको अवस्थामा हामीहरू आइपुगेका हौँ। सार्वभौम नेपाली जनताका प्रतिनिधिहरूद्वारा गणतन्त्रको घोषणा गरिएको हो। इतिहासमा सुरक्षित यो महान् र ऐतिहासिक प्रसङ्गलाई कसैले पनि बिर्सन मिल्दैन।’
नेता पोखरेलले अग्रगति र प्रगतिलाई देख्न नचाहने तत्वहरू सलबलाउन थालेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ। नेता पोखरेलले प्रतिगमनका प्रयत्नलाई पराजित गर्दै जनस्तरमा मनाइने गणतन्त्र दिवस समारोहमा सक्रियताका साथ सहभागी बन्न अनुरोध गर्नु भएको छ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभएको छ, ‘प्रतिगमनका प्रयत्नलाई पराजित गरौं ! जनस्तरमा मनाइने गणतन्त्र दिवस समारोहमा सक्रियताका साथ सहभागी बनौं !!’
नेता पोखरेलले अगाडी उल्लेख गर्नुभएको छ, ‘कुनै पनि नाममा कायम गरिने जन्मसिद्ध विशेष अधिकार, वंश परम्परामा आधारित तथा अनिर्वाचित शासन सत्ताप्रति असहमति र विरोधको जगमा अहिलेको लोकतान्त्रिक गणतन्त्र खडा भएको हो। लामो सङ्घर्ष र त्यसमा प्राप्त गरेका अनेकौँ अनुभवका आधारमा नेपाली जनता यो ऐतिहासिक उपलब्धिका हकदार बनेका हुन्।’
उहाँले भन्नुभएको छ, ‘अग्रगति र प्रगतिलाई देख्न नचाहने/देख्न नसक्ने र पुनरुत्थानको सोच राख्ने पक्षहरू प्रतिकृयावादी मात्र होइनन्, प्रतिगामी शक्तिका मतियार हुन्- प्रतिगामी नै हुन्। आज त्यस्ता तत्त्वहरू सगबगाउन थालेका छन्। यो सगबगाहट पुनरुत्थानका लागि हो। यति वेला पुनरुत्थानको प्रयत्न जन्मसिद्ध विशेषाधिकार, वंश परम्परामा आधारित शासन सत्ता र अनिर्वाचित शासन सत्ताको पुनर्स्थापनाको चाहना नै हो। राजतन्त्र स्थापना गर्ने कुरा त्यसैको ठोस अभिव्यक्ति हो। पुनरुत्थानका लागि गरिने कुनै पनि प्रयत्न मासिनै पर्ने/नासिनै पर्ने विषय हुन्। विगत र भविष्य नभएका शक्तिहरू पनि लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने हतियार बन्ने कोशिस गरिरहेका छन्।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले नदेखिने गरी केही बाह्य शक्तिहरू यही खेलमा खेलाडी बन्ने प्रयत्न गरिरहेको आभास भइरहेको पनि भएको छ। उहाँले भन्नुभएको छ, ‘नदेखिने गरी केही बाह्य शक्तिहरू यही खेलमा खेलाडी बन्ने प्रयत्न गरिरहेको आभास भइरहेको छ। यस पटक गणतन्त्र दिवस मनाउन आयोजना भइरहेको जनस्तरको समारोहमा सहभागी हुनुहुने हरेक सहभागीले यिनै कुरा बुझेर सक्रिय सहभागी बनौँ र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि दृढतापूर्वक अघि बढौं !’
प्रतिक्रिया