काठमाडौं-सरकारले सरकारी कर्मचारीको तलब कर्मचारीको तलब नबढाउने भएको छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजित बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराउनु भएको हो।
त्यसको साटो महँगी भत्ता भने ५ हजार पुर्याउने अर्थमन्त्री पौडेलले बताउनु भयो। स्रोतको अभावका कारण तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।
कर्मचारी सम्बद्ध सङ्घ संस्थाले आगामी आर्थिक वर्षदेखि कर्मचारीको तलब थोरै भए पनि वृद्धि गर्नुपर्ने माग राखे पनि आर्थिक स्रोत व्यवस्थापन गर्नुपर्ने भएकाले तलब वृद्धि गर्न नसकिएको अर्थमन्त्री पौडेलले जानकारी गराउनुभयो ।
‘राष्ट्रसेवक कर्मचारीको सेवा सुविधा समयसापेक्ष बनाउनुपर्ने आवश्यकता बोध भएता पनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षा अनुरुप तलब बृद्धि गर्न सम्भव भएन’, अर्थमन्त्री पौडेलले भन्नभयो, ‘तथापि, सबै राष्ट्र सेवकहरूका लागि साउन १ गतेदेखि लागूहुनेगरी मंहगी भत्ता बृद्धि गरी मासिक रु पाँच हजार पुर्याएको छु।’
संस्थानको व्यवस्था सुधार गर्न जमिनको स्वामित्व नेपाल सरकारमै राख्ने नीति लिइने छ। सोहीअनुसार जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, हेटौडा सिमेन्ट उद्योग लगायतका उद्योगको अध्ययन गरी सरकारी लगानी बढाइने अर्थमन्त्री पौडेलले जानकारी गराउनुभयो।
त्यस्तै, संस्थानमा आर्थिक भार पर्नेगरी विदेश भ्रमणमा रोक लगाइएको अर्थमन्त्री पौडेलले जानकारी गराउनुभयो । संविधानले निर्दिष्ट गरेबमोजिम खर्च मितव्ययी बनाउन नीति तर्जुमा गरिने उहाँले बताउनुभयो ।
प्रतिक्रिया