अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

वर्षाले उदयपुरका ग्रामीण सडक अवरुद्ध

वर्षाले उदयपुरका ग्रामीण सडक अवरुद्ध


उदयपुर-उदयपुर जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडक बाढी पहिराका कारण अवरुद्ध भएको छ। सदरमुकाम गाईघाटबाट रौता-सल्ले, रौता-भुटारसहितका ग्रामीण सडक अवरुद्ध भएका रौता सल्लेको विष्णु पाठकले बताउनुभयो।

शनिबार बिहानको भीषण वर्षाका कारण यी क्षेत्रको ग्रामीण सडक भत्किएको र कतिपय  पहिराले पुरिएका उहाँले बताउनुभयो। रौता-नामन्त, रौता-आँपटार, नामेटार-ओख्रेनी, रामेटार-भदौरेसहित पाँबु क्षेत्रका ग्रामीण सडक पनि अवरुद्ध भएका स्थानीय डिल्लीराम मगरले बताउनुभयो । रौता–मुर्कुची भएर डिल्लीबर हुँदै माझखर्क जाने सडक पनि विभिन्न स्थानमा भत्किएका र बाढीले बगाउँदा अवरुद्ध भएको स्थानीय दिव्यराज मगरले बताउनुभयो ।

निरन्तरको वर्षाले जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडक भत्काएर खाल्डो परेको वा पहिराले पुरिएको कारण अहिले मोटरसाइकलसमेत सञ्चालन हुन नसकेको माझखर्कका जम्बु शेर्पा बताउनुहुन्छ । मुर्कुची–डिल्लीबर–माझखर्क भएर लिम्चुङबुङको बासबोटे बराह जाने ग्रामीण सडक पनि अवरुद्ध भएको छ ।

उदयपुरगढी गाउँपालिकाको भलायाडाँडा–बर्रे, डुम्रे–उदयपुरगढी सडक पनि भत्किएकाले यातायातका साधन सञ्चालनमा समस्या भएको डुम्रेका गङ्गा मगरले बताउनुभयो । बेलका नगरपालिका–८ को कोठुबाट मैनामैनी जोड्ने सडक भत्किएर अवरुद्ध भएको छ । शनिबारको वर्षाको कारण जिल्लाका चार पहाडी गाउँपालिकाका सडक अवरुद्ध भएका जानकारी उहाँले दिनुभयो ।