अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमालेले किन चलायो ‘म झोले’ अभियान ?

एमालेले किन चलायो ‘म झोले’ अभियान ?


काठमाडौं-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित अन्य एमाले नेताहरूले सामाजिक सञ्जालमा ‘म झोले हो’ भन्ने अभियान चलाएका छन्।

प्रधानमन्त्री ओलीले आफ्नो तस्बिरसहित ‘म झोले हो’ लेखेर सामाजिक सञ्जाल फेसबुकमा राखेपछि एमाले उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल, एमाले उपमहासचिव एवं प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल तथा एमालेका सांसद साथै एमालेका नेताहरुले ‘म झोले हो’ लेख्दै फेसबुकमा राखेका छन्।

तस्बिरमा  ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्स कयौं गुणा उत्तम चरित्र हो’ पनि लेखिएको छ।

प्रधानमन्त्री ओलीले तस्बिर राख्दै फेसबुकमा लेख्नुभएको छ- ‘हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ,’ स्टाटसमा भनिएको छ, ‘भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ।’

प्रधानमन्त्री ओली शनिबार एमाले निकट नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै ‘झोले’ हुनुमा आफूलाई गर्व लाग्ने बताउनुभएको थियो।

‘म नेकपा एमालेको झोले हुँ, म यस जनताको झोले हुँ,’ प्रधानमन्त्री ओली‍ले भन्नुभएको थियो, अब चित्त बुझ्यो प्रतिक्रियावादीहरुलाई? म कबुल गर्छु– झोले हुँ। झोले हुनुमा गर्व छ, तर राम्रा कुरा बोक्नुमा गर्व छ।’