काठमाडौं -इजराइल र इरानबीच गएराती पनि मिसाइल र ड्रोन हानाहान भएको छ।
गएराति इजराइलले इरानको राजधानी तेहरानलाई लक्ष्य गरी आक्रमण गरेको छ। अमेरिकी मिडिया सिएनएनका अनुसार इजराइलले इरानको तेल भण्डार र रक्षा मन्त्रालय भवनमा हवाइ आक्रमण गरेको छ।
इजराइली मिसाइल हमलाबाट तेहरानको उत्तरपश्चिममा रहेको तेल भण्डारमा आगो लागेको तस्बिर र भिडिओ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन्।
तेल भण्डारमा आक्रमण गरेपछि इजराइली रक्षामन्त्री इसराइल कत्जले इरान जलिरहेको भनेर एक्समा लेखेका छन्।
इरानले पनि शरहन तेल भण्डारमा आक्रमण भएको बताएका छन्। इजराइली आक्रमणबाट त्यहाँ लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको पनि अधिकारीहरूलाई उद्धृत गर्दै इरानी सञ्चारमाध्यमहरूले लेखेका छन्।
इजराइलले इरानको रक्षा मन्त्रालय भवनमा पनि लक्ष्य गरेको सिएनएनले जनाएको छ ।
राजधानीमा रहेको मन्त्रालय भवनमा इजराइली हमलाबाट सामान्य क्षति पुगेको बताइएको छ।
तेस्रो रात इरान र इजराइल दुवैले नयाँ चरणको आक्रमण घोषणा गरेर एक अर्कामाथि मिसाइल हानिरहेका छन्।
इजराइली राजधानी तेल अभिभ र जेरूसलेमका आकाशमा इरानी मिसाइल र ड्रोनहरू देखिएको र अधिकांश हमला एयर डिफेन्स सिस्टमले नष्ट गरेको भनिएको छ।
इजराइलको उत्तरी सहरहरुमा इरानी हमलाबाट मानिसहरुको मृत्यु भएको र भवनहरू पूर्ण रूपमा ध्वस्त भएको सिएनएनले जनाएको छ। त्यहाँ उद्धार कार्यहरू चलिरहेका छन्।
इजराइलले शुक्रबार बिहान साढे ३ बजे इरानमाथि ठूलो आक्रमण गरेको थियो।
उसले इरानको आणविक भट्टी, हतियार कारखाना, उच्च सैन्य अधिकारी, आणविक बैज्ञानिक लगायत सेनाका भवनहरुमा २०० लडाकू विमानसहित ३ सय हतियारले आक्रमण गरेको थियो।
इजराइलको आक्रमणबाट इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरका प्रमुख कमान्डर हुसेन सलामी, सेनाका प्रमुख मेजर जनरल मोहम्मद बाघेरी, रिभोलुसनरी गार्डकै हवाई फोर्स कमान्डर आमिर अली हाजीजादेह, खताम अल अनबिया मुख्यालय प्रमुख घोलाम अलली रसिद लगायत कम्तिमा पनि २० जना सैन्य अधिकारी मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसरी प्रमुख सैन्य अधिकारीहरु नै मारिएपछि इरानी सेनाको चेन अफ कमान्ड नै ध्वस्त भएको छ। सर्वोच्च नेता आयातोल्लाह अल खामेनीले ब्रिगेडियर जनरल मोहम्मद पाकपोरलाई रिभोलुसनरी गार्डका प्रमुख नियुक्त गरेका छन्।
बाघेरीको ठाउँमा मेजर जनरल सैयद अबदुलरहिम मौसावीलाई सेना प्रमुख र रसिदको ठाउँमा अली शदमानीलाई खताम अल अनबिया मुख्यालय प्रमुख नियुक्त गरेका छन्।
त्यस्तै आणविक हतियार बनाउने वैज्ञानिकहरू पनि हमलामा मारिएका छन्।
मोहम्मद मेहदी तेहराँची, फरदून अब्बासी, मोहम्मद इस्लामी लगायतका परमाणु वैज्ञानिकहरु इजराइली हमलामा मारिएका हुन्। इसराइलले इरानविरूद्धको हमलालाई अपरेशन लायन नाम दिएको छ।
हमलाबाट कम्तिमा ८० जनाको मृत्यु र साढे तीन सय हाराहारीमा घाइते भएको बताइएको छ।
इरानले सोही बिहान इजराइलमाथि सयवटा ड्रोनले सामान्य हमला गरेको थियो।
शुक्रबार बेलुकादेखि भने इजराइलमा भीषण हमला थालेको हो।
त्यो क्रम शनिबार बिहान र शनिबार राति पनि कायम रहेको छ।
इरानले इजराइलले हमला जारी राखे उसले अझै ठूलो क्षति ब्यहोर्नुपर्ने चेतावनी दिएको छ।
इजराइली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले सुरक्षा समितिको बैठक बोलाएका छन्।
प्रतिक्रिया