कैलाली- प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिले प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य तथा नजर अनलाइनका सम्पादक झलक पालीमाथि भएको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
२०७९ सालको जेठ १४ गते डोटीको जोरायल गाउँपालिका–१ का दीपक खडकाको मृत्युबारे समाचार प्रकाशन गरेपछि पत्रकार पालीमाथि स्थानीय स्तरमा भ्रम फैलाउने, दबाब दिने तथा मानसिक रूपले हतोत्साहित गर्ने किसिमका गतिविधि भएको भन्दै प्रेस चौतारीले कडा आपत्ति जनाएको हो।
पत्रकार पालीले प्रहरीसँग संवादका लागि बनाइएको ‘प्रहरीसँग पत्रकार’ नामक म्यासेन्जर समूहमा प्राप्त सूचनाका आधारमा समाचार तयार पार्नुभएको थियो। तर, सोही सूचनालाई आधार मानेर तयार पारिएको समाचारलाई लिएर प्रहरी स्वयमले नै पत्रकार विरुद्ध वातावरण बनाउने काम गरेको भन्दै चौतारीले त्यसप्रति आपत्ति जनाएको हो ।
जेठ ३० गते खडकाको मृत्युपछि भीमदत्त राजमार्गको गैरा बजार क्षेत्रमा पीडित पक्षद्वारा गरिएको सडक अवरोधको समाचार संकलनका क्रममा समेत पत्रकारलाई घटनास्थलमै बोलाई सार्वजनिक माफी माग्न प्रहरी पक्षबाट दबाब दिइएको चौतारीले जनाएको छ। पालीले माफी माग्नुपर्ने भन्ने निर्णय तथा समाचारलाई “भ्रमपूर्ण” भनेर पन्छिने प्रहरीको प्रवृत्तिलाई प्रेस स्वतन्त्रता र पत्रकारको आत्मसम्मानमाथिको हमला भएको चौतारीको ठहर छ।
प्रेस चौतारी सुदूरपश्चिम प्रदेशका महासचिव भानुभक्त आचार्यद्वारा जारी विज्ञप्तिमा मृतक खडकाको मृत्युबारे सत्यतथ्य छानबिन गर्न प्रहरीलाई आग्रह गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “समाचारको विषयमा असहमति भए कानुनी उपचारको बाटो खुला हुँदाहुँदै धम्की, दबाब र क्षमायाचनाको माग गर्नु प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमण हो। यस किसिमका गतिविधि दोहोरिन नदिन सरोकारवाला निकायलाई हामी आग्रह गर्दछौं।”
प्रतिक्रिया