काठमाडौँ-उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हरित अर्थतन्त्रको प्रवर्द्धनमार्फत नेपालले आर्थिक वृद्धिको बाटोमा रहेका चुनौतीहरूको सामना गर्न सक्ने बताउनु भएको छ।
काठमाडौँमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनु भएको हो। अर्थमन्त्री पौडेलले उच्च र दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना, गुणस्तरीय मानव पुँजी विकास, हरित अर्थतन्त्रको प्रवर्द्धन, सामाजिक समावेशीकरण एवं लगानी तथा व्यापार प्रवर्द्धनको माध्यमबाट नेपालले आर्थिक वृद्धिको बाटोमा रहेका चुनौतीहरूको सामना गर्न सक्ने बताउनुभयो ।
हरित अर्थतन्त्रको प्रवर्द्धनमार्फत आर्थिक वृद्धिका लागि सरकार, निजी क्षेत्र, सहकारी, गैरसरकारी तथा सामाजिक संघ संस्था, विकास साझेदार बिचको सहयोग र सहकार्य अझ घनिष्ठ बनाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ। विपद् तथा जलवायु परिवर्तनको असरबाट नागरिक र अर्थतन्त्रको उत्थानशीलता विकास गर्नु नेपालको लागि चुनौतीपूर्ण विषय बनेको समेत बताउनुभयो ।
अर्थमन्त्री पौडेलले नेपालले कार्यान्वयनमा प्राथमिकता दिएको दिगो विकासको लक्ष्य हासिल गर्ने, हरित अर्थतन्त्र विकास गर्ने, जलवायु सम्बन्धी विश्वव्यापी कोषहरूमा पहुँच कायम गर्दै उत्थानशीलता विकास गर्नुपर्नेमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले यसका लागि आवश्यक पर्ने उच्च लागत र प्राविधिक दक्षताको लागि नेपाललाई विकास साझेदार र विश्व समुदायको सहयोग र साझेदारी पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो।
प्रतिक्रिया