अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आजको मौसम : यी स्थानमा भारी वर्षा हुने

आजको मौसम : यी स्थानमा भारी वर्षा हुने


काठमाडौं – देशका केही भूभागका आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

विभिन्न प्रदेशमा गएरातिदेखि नै वर्षा भइरहेको छ । बर्दिया जिल्लाका दौलतपुर, बर्गादही, राम्भापुर, रानिजरुवा र कुम्रा गाउँ वर्षामापन केन्द्रमा भारीदेखि अति भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गण्डकी र लुम्बिनी प्रदेशस्थित गोर्खा, लमजुङ, कास्की, पर्वत, पाल्पा, बागलुङलगायत आसपासको क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षा भएको छ ।
उक्त दुई प्रदेशका प्रमुख नदीलगायत सो क्षेत्र भई बहने ससाना खोलाहरूमा जलसतह बढ्नसक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेको छ । डुबान भइरहने होचा तथा नदी तटीय क्षेत्रमा सतर्क रहनुपर्ने विभागले जनाएको छ ।

लमजुङको खुदी बजार आसपासको क्षेत्रमा पनि भारी वर्षामापन भएको छ । खुदी खोलामा जलसतह बढेको छ । उक्त नदी तटीय क्षेत्रको डुबान भइरहने होचा भूभागहरूमा रहनेहरूले उच्च सतर्कता अपनाउनुपर्ने विभागले बताएको छ ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना छ । कोसी र मधेस प्रदेशका तराईका भूभागहरूका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

विभागले राति पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

हाल कोसी, मधेस, वामग्मती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव छ । देशको पश्चिम भूभागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको विभागले बताएको छ ।