काठमाडौं- प्रतिनिधी सभाका सदस्य एवं नेकपा एमालेका पोलिटव्यूरो सदस्य सूर्य थापाले दैलेखमा फेला परेको ग्यास भण्डारले नेपालको ‘इकोनोमी टेक अफ’ गर्ने बताउनुभएको छ । दैलेखको जलजलामा १ अर्ब १२ करोड घन मिटर मिथेन ग्यास रहेको र आसपासका ठाउँहरुमा गरेर ४ लाख घन मिटर ग्यास भएको जानकारी आएकोमा उहाँले बैठकमा खुशी व्यक्त गर्नुभएको छ ।
आजको संसद बैठकमा विनियोजन विधेयक माथी आफ्ना धारणा राख्दै थापाले दैलेखमा भेटिएको ग्यासले नेपाललाई ५० वर्ष पुग्ने चिनियाँ अध्ययनले देखाएको उल्लेख गर्दै यो नेपालको लागि खुशीको खबर भएको बताउनुभएको छ । उहाँले २०७२ सालमा भारतले लगाएको नाकाबन्दी पछि प्रधानमन्त्री केपी शर्मा ओलीले चिनिया पक्षसँग ग्यास उत्खनन्को सम्झौता गर्नुभएको स्मरण गर्नुभयो । ‘यो उपलब्धीका लागि प्रधानमन्त्रीज्यूलाई धन्यवाद भन्नु पर्दछ’ थापाले भन्नुभयो ‘यो खानी सञ्चालन गरेपछि नेपालको इकोनोमीले टेक अफ गर्दछ ।’
थापाले अहिले साँसदहरुले आफ्नो क्षेत्रमा बजेट परेन भनेर अनन्य रोदन गरिरहेकोमा उक्त ग्यास भण्डार सञ्चालनमा आएपछि मेरो क्षेत्रमा बजेट परेन भनेर संसदमा रोदन गर्नुनपर्ने उहाँको भनाइ छ ।
विगतमा ७२ लाख अमेरिकी डलर खर्च गरेर विभिन्न विज्ञ टोलीले अध्ययन गरे पनि पनि ग्यासको सम्भावना देखाएका थिएनन् । तर यस पटकको अन्वेषणले यति ठूलो मात्रामा ग्यास भण्डारण देखिएकोले यसमा देशै खुशी हुनुपर्ने थापाको भनाइ छ ।
प्रतिक्रिया