बागलुङ- बागलुङको काँठेखोला गाउँपालिकाले बाँदर आतंक घटाउन जंगलमै उसलाई आहारा जुटाइदिने भएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु थापाले बाँदर व्यवस्थापनको यस्तो प्रस्ताव गर्नु भएको हो । बाँदरले किसानका बालिनाली नष्ट गरेका कारण वर्षेनी मानिसहरु बसाँइ हिडेर गाउँ नै रित्तिने अवस्थामा पुगेपछि बाँदरको आहारा जंगलमै पुर्याइदिने नीति गाउँपालिकाले ल्याएको छ । नीति कार्यक्रममा उल्लेख भए अनुसार सामुदायिक उपभोक्ता समुहहरुसँग मिलेर बाँजो तथा सामुदायिक वन जंगलहरुमा फलफूल तथा गिठा, तरुल, भ्याकुर र कन्दमुल जस्ता फलफूल तथा खनिजजन्य खाद्यान्नहरु लगाई बाँदर व्यवस्थापन गरिने नीति कार्यक्रममा उल्लेख छ ।
उक्त गाउँपालिकाले हिजो सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नेपालमा आगामी वर्ष अल्पविकसितबाट विकासशिल देशमा उक्लिन लागे पनि रोजगारीको अभावमा युवाहरु विदेश जानु पर्दा गाउँहरु रित्तिएकोमा चिन्ता व्यक्त गरिएको छ । नीति कार्यक्रममा यस्तो परिदृष्यर्ले गम्भिर परिस्थिती निम्त्याउने चिन्ता व्यक्त गरिएको छ । यो अवस्थाले बस्तीहरु सुनसान हुन पुगेका,उब्जाउ खेतबारी घाँस पलाएर बाँभ्mो जमिनको रुपमा परिणत भएको उल्लेख गरिएको छ । गाउँबट युवाको पलायन रोक्न हरेक नागरिकलाई आय आर्जनमा जोड्ने कार्यक्रम नीति तथा कार्यक्रममा प्रस्ताव गरिएको छ ।
यस सम्बन्धमा नगरपालिकाको नीति कार्यक्रममा यस्तो लेखिएको छ :
देश अल्प विकसित मुलुकबाट विकासशील मुलकको श्रेणीमा उक्लिनै लाग्दा हरेक दिन हजारौको संख्यामा युवाहरू रोजगारीको खोजीमा देश छोडेर विदेसिनु पर्ने बाध्यताले हामी सवैलाइ गम्भीर वनाएको छ । हाम्रा गाउँघरहरू सुनसान वस्तीका रूपमा रूपान्तरित हुन पुगेका छन । उब्जाउ खेतवारीहरु घाँस पलाएर बाँझो जमिनको रुपमा परिणत हुन पुगेका छन । युवालाइ देश भित्रै रोजगारीको अवसर सृजना गर्ने र गाउँघरको वसाइलाइ आकर्षक वनाउने चुनौती हामी सबैको साझा मुद्दा बन्न पुगेको छ । यस्तो परिस्थितिमा हामीले हाम्रो अर्थतन्त्रलाई पुनर्उत्थानशील क्रियाकलाप मार्फत अझ बलियो र मजबुत बनाउदै तिब्र र दिगो आर्थिक विकास सहितको समृद्ध गाउँपालिका निर्माणको मुल लक्ष्य हासील गर्नुपर्ने छ । यसका लागि हाम्रो गाउँपालिकाका हरेक नागरिकहरुलाई आय आर्जन र आर्थिक समृद्धिको यात्रामा समाहित गर्दै हरेक क्षेत्रमा आर्थिक विकासका कार्यक्रमहरुलाई विशेष जोड दिनुपर्ने अवस्था सिर्जना भएको छ भने गाउँपालिकाबाट नागरिकहरुका लागि हुने सेवा प्रवाहलाइ थप प्रभावकारी बनाइ नागरिकहरुमा सुशासनको अनुभूति ल्याउन गाउँपालिकाको हरेक क्षेत्रमा क्षमता विकास गर्न समेत अपरिहार्य छ । यसका लागि बिद्युतीय सुशासन प्रणालीलाइ सेवा प्रभावमा ब्यापक र प्रभावकारी वनाउनु पर्ने अवस्था देखिन्छ ।
प्रतिक्रिया