नेकपा एमाले सांसद भगवती चौधरीले नेपालमै व्यवसाय गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ।
सोमवारको अर्थ समितिको बैकठमा बोल्दै सांसद चौधरीले यस्तो आग्रह गर्नुभएको हो। समितिमा सोमवार आर्थिक विधेयक मार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिएको निवेदन र बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल भएको हो। उहाँले व्यवसायी लगानीकर्तामाथि धेरै कडाइ गर्न नहुने बताउनुभयो।
अवैधानिक रूपमा व्यापार व्यवसाय गर्नेहरूमाथि मात्रै निगरानी बढाएर करको दायरामा ल्याउन जरुरी रहेको बताउनुभयो। उहाँले डायमन्डमा लगाइएको विलासिता कर हटाउनुपर्ने बताउनु भयो।
सांसद चौधरीले भन्नुभयो, ‘यदि व्यवसायी लगानीकर्ता सबैलाई फस्टाउनु छ भने यसै टाइट गर्ने हो भने झनै समस्या आउँछ। अहिलेको अवस्था त यति नैराश्य छ। हाम्रो मार्केट, अर्थतन्त्र यति तल झरिसकेको छ। यो तरिकाले झनै तल खस्किन्छ। डायमन्डमा लग्जरी कर जुन छ त्यसलाई हटाउनु पर्छ। आम उपभोक्ताले बढी प्रयोग गर्ने चिजमा कर बढाइदिए मारमा उनीहरू नै पर्दछन्। हामी उद्योगधन्दा फस्टाउन चाहन्छौँ, यहीँ व्यवसाय गर्न दिने हो भने टाइट नगरौँ।’
प्रतिक्रिया