अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

विराटनगर महानगरले ल्यायो चार अर्ब ४० करोडको बजेट

विराटनगर महानगरले ल्यायो चार अर्ब ४० करोडको बजेट


मोरङ – मोरङको विराटनगर महानगरपालिकाले चार अर्ब ४० लाखको बजेट प्रस्तुत गरेको छ । महानगरको १६ औ नगर सभामा उप प्रमुख शिल्पा कार्कीले आर्थिक वर्ष २०८१ ८२ का लागि सो बजेट प्रस्तुत गर्नु भएको हो । बजेट प्रस्तुत गर्दै उपप्रमुख कार्कीले राजनीतिक दल, उद्योगी, व्यवसायी र नागरिक समाजसँगको वृहत् छलफल र सहमतिबाट बजेट निर्माण गरिएको बत्ताइन् । उनले यो बजेटले समृद्ध महानगर बनाउने अभियानमा सघाउ पुर्‍याउने समेत दाबी गर्नुभयो ।

उपमेयर कार्कीले प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकास, वडा स्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । महानगरले प्रस्तुत गरेको बजेटमा समानीकरण अनुदान सङ्घ र प्रदेशबाट ३७ करोड ९६ लाख ३० हजार, राजस्व बाँडफाँडबाट १ अर्ब १९ करोड २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड, नगद मौज्दात १४ करोड, सङ्घीय सरकार सशर्त र समपूरक अनुदान ८३ करोड ३४ लाख, प्रदेश सशर्त अनुदान ४ करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट १ करोड ५० लाख र अन्य सङ्घ संस्थाबाट १६ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ६४ करोड ७५ लाख, ऋणको सावा व्याज भुक्तानीका लागि ५ करोड, चालु आवको भुक्तानी दिन बाँकी योजना तथा कार्यक्रमहरूका लागि ८ करोड विनियोजन गरेको छ । महानगरले प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधारतर्फ समपूरक योजनाहरूका लागि ६ करोड २० लाख, वहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सारी आएका योजनाहरूको लागि ७० करोड विनियोजन गरिएको छ ।

यस्तै नगरका विभिन्न सडक मर्मत सम्भारका लागि १० करोड, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड ६० लाख, विद्युतीय कार्यक्रमका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसै गरी भवन संहिता तथा निर्माण इजाजतका लागि १ करोड ६५ लाख, सडक पूर्वाधार तथा बस्ती विकासका लागि १० करोड २७ लाख १२ हजार विनियोजन गरिएको छ । महानगर सडक बोर्डबाट सञ्चालन हुने योजनाहरूका लागि १ करोड ५० लाख साथै नगर स्तरीय योजनातर्फ ६४ करोड ६१ लाख १ हजार गरी पूर्वाधार विकासतर्फ कुल १ अर्ब ६८ करोड ८३ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।