काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिनुभएकाे छ।
प्रधानमन्त्रीले ओलीले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ग्रेड प्राप्त विद्यार्थीहरूलाई बधाई दिनुभएकाे हाे ।
प्रधानमन्त्रीले ओलीले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ,’एसईई परीक्षामा ग्रेड प्राप्त गर्नु भएका भाइबहिनीहरूलाई हार्दिक बधाई ! यस वर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नु भएको छ। गत वर्ष ४७.८६% प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नु भएको थियो भने ५२.१४ प्रतिशत परीक्षार्थी नन ग्रेडेड रहनु परेको थियो । बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ। ग्रेड नपाउने विद्यार्थीहरूले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्को दिन पनि आउने छ। सबै भाइबहिनीहरूलाई बधाई !’
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएका छन्। नतिजअनुसार ३.६ जिपिएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना र २.८ जिपिएदेखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी रहेका छन् ।
त्यसैगरी २.४ जिपिएदेखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने आठ जना परीक्षार्थी रहेका छन्।
१२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयाे । एक लाख ६७ हजार ५९७ विद्यार्थी नतजिा अवर्गीकृत भएका छन् ।
२०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।
नतिजासम्बन्धी विवरणहरू एसएमएस, आईभीआर र वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ।
प्रतिक्रिया