काठमाडौँ-संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिहरूको बैठक बस्ने भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ८ बजे सुरु हुनेछ। बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।
यसैगरी, संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक पनि बिहान ८ बजेका लागि बोलाइएको छ । बैठकमा सर्वोच्च अदालतका सुनुवाइ हुन बाँकी प्रस्तावित न्यायाधीश र न्याय परिषद् सदस्यको सुनुवाइ गर्ने कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल हुँदै छ ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठक पनि ११ बजे बस्नेछ । बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुने संघीय सचिवालयले जनाएको छ ।
प्रतिक्रिया