अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनगढीमा अविरल वर्षा: दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

धनगढीमा अविरल वर्षा: दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार


कैलाली-आइतबारदेखि लगातार वर्षा हुँदा धनगढीका घर डुबानमा परेका छन्। डुबानमा फसेका आठ जनालाई प्रहरीले आज उद्धार गरेको छ।

धनगढी उपमहानगरपालिका-१३ श्रीलङ्काका चारजना र धनगढीको बेली गाउँका चारजना गरी आठ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोसीले जानकारी दिनुभयो।

उहाँका अनुसार बेलीका सीताराम रानाको एकतले कच्ची घर डुबानमा परेपछि उहाँसहित परिवारका चार जनालाई उद्धार गरेर नजिकै रहेको आफन्तको घरमा सारिएको छ। त्यसैगरी, धनगढी-१३ श्रीलङ्काका एकै परिवारका चार जनाको उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखिएको छ।

सूचना अधिकारी जोसीले गएराति देखिको भारी वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै दुई हजार घरमा पानी पसेको बताउनुभयो। जसमा धनगढीका ३, ४, १३, १, ७ र ११ नम्बर वडा वर्षाका कारण प्रभावित भएको उहाँको भनाइ छ।