अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा अहिले केपी ओली र विद्या भण्डारी भनेर दौडने समय होइन : सञ्चार मन्त्री गुरुङ

एमालेमा अहिले केपी ओली र विद्या भण्डारी भनेर दौडने समय होइन : सञ्चार मन्त्री गुरुङ


रामेछाप- सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा एमालेमा अहिले केपी ओली वा विद्या भण्डारी भनेर दौडने बेला नभएका बताउनुभएको छ ।

नेकपा एमाले रामेछापले मंगलबार मन्थलीमा आयोजना गरेको राजनीतिक तथा सांगठनिक क्षमता अभिवृद्धिका लागि जिल्ला स्तरीय कार्यशालामा बोल्दै नेकपा एमालेका उपमहासचिव समेत रहनुभएका गुरुङले अहिले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बेला भएको बताउनुभयो । पार्टी माथि चौतर्फी हमला भइरहेको बेला पार्टी भित्रै यो र त्यो भनेर बहस चलाउनु उचित नहुने उहाँको धारणा छ । ‘अहिले केपी ओली र विद्या भण्डारी भनेर दौडने बेला होइन, पार्टी माथि चौतर्फी हमला भइरहेको छ, एमाले माथिको आक्रमण रोक्ने बेला आफैँ भित्र प्रतिष्पर्धा गरेर पार्टीलाई कमजोर बनाउनु हुँदैन’, उहाँले भन्नुभयो ।

गुरुङले नेतृत्वको बहस महाधिवेशनको बेला हुने बताउनुभयो । ‘यस विषयमा हामीले महाधिवेशनको बेला बहस गर्ने छौँ, महाधिवेशनमा हामी सही निर्णय गर्ने छौँ, नेताहरूले रहर गरेर मात्र जिम्मेवारी पाइँदैन, समयको माग र आवश्यकताले निर्णय गर्छ, त्यसैले तपाईँहरू केपी ओली कि विद्या भण्डारी भनेर दौडनु पर्दैन’, उहाँले भन्नुभयो ।

पार्टीको नेता कार्यकर्ताले पत्याएको, कार्यकर्ताले अनुमोदन गरेको र जनप्रतिनिधि जनताबाट अनुमोदित हुनुपर्ने स्पष्ट पारे । कसैले टिको लगाइदिएर नेतृत्वमा नपुगिन उनको धारणा छ । ‘पार्टीले टिको लगाइदिने व्यवस्था होइन हाम्रो, यो कुराको अभ्यास हामीले ठिक ढङ्गले गरेका छैनौँ भन्ने आत्मालोचना हो मेरा, दायाँबायाँ, नातावाद, कृपावादले समाजवादको लक्षमा पुग्न सकिँदैन’, उनले भने ।

नेकपा एमालेमा अहिले दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकता मौलाउँदै गएको गुरुङले बताउनुभयो । अहिलेको बेमौसमको बाजा पानी त्यसको उपज भएको उहाँको धारणा छ । आफैँ भित्रको दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकता एमालेको लागि सबैभन्दा घातक भएको उहाँले बताउनुभयो । ‘पार्टीमा पद बाँड्दै हिँड्ने, आफू भए ठिक, अरू हुँदा गलत भन्ने प्रवृत्ति मौलाएको छ, यो कम्युनिष्ट पार्टीको लागि घातक कुरा हो’,गुरुङले भन्नुभयो ।

एमाले मार्क्सवादी विचार र लेनिनवादी संगठनात्मक प्रणालीबाट विकसित भएर आएको पार्टी भएको बताउँदै गुरुङले अहिले एमालेको असल पद्धति कोमामा पुगेको बताउनुभयो । त्यसलाई बचाउनु आजको आवश्यकता भएको उहाँले स्पष्ट पार्नुभयो ।

नामले मात्र कम्युनिष्ट पार्टी बन्न नसक्ने बताउँदै गुरुङले एमालेलाई कम्युनिष्ट पार्टी बनाउनु हो भने मार्क्सवादी दर्शन र लेनिनवादी संगठन प्रणालीलाई व्यवहारिक रूपमा प्रयोगमा ल्याउनु पर्ने बताउनुभयो । अहिले अभियान विना कम्युनिष्ट पार्टीका सदस्यता नवीकरण समेत नहुने स्थिति आएको भन्दै उहाँले पार्टी भित्र व्यापक सुद्धिकरण र सुदृढीकरण आवश्यक रहेको औँल्याउनु भयो ।

गुरुङले नेकपा एमाले समाजवादमा पुग्ने लक्ष बोकेर अघि बढेको पार्टी भए पनि अहिलेकै विधि र पद्धतिले त्यो प्राप्त गर्न नसकिने उहाँले स्पष्ट पार्नुभयो । त्यसैले पार्टी कम्युनिष्ट पार्टीको सही विचारधारा बोकेर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

वर्तमान सरकारले धेरै राम्रो काम गर्न नसकेको भए पनि नराम्रो काम पनि नगरेको उहाँले बताउनुभयो । सरकार राम्रो काम गर्ने प्रयत्नमा रहेको उहाँले दाबी गर्नुभयो । सरकारले आहा भन्ने काम गर्न नसकेको भए पनि नराम्रा काम पनि नगरेको उहाँको भनाइ छ ।

संयुक्त सरकार भएका कारण त्यसका केही सीमा भएका उहाँले बताए । संयुक्त सरकारमा एकलौटी सरकार जस्तो गरी आफ्ना नीति र कार्यक्रम लागु गर्न नसकिने बाध्यता बुझिदिन उहाँले आग्रह गर्नुभयो । गुरुङले केपी ओली नेतृत्वको वर्तमान सरकारले धेरै केही गर्न नसके पनि देश र व्यवस्थालाई बचाउने तथा देशको स्वाभिमानलाई झुक्न नदिने दाबी गर्नुभयो । त्यसकै लागि कांग्रेस र एमालेको संयुक्त सरकार बनेको उहाँले स्पष्ट पार्नुभयो । कांग्रेस र एमालेको विचार र गन्तव्य नमिल्ने भए पनि देश र व्यवस्था बचाउने कुरामा दुवैको समान धारणा भएको गुरुङले बताउनुभयो ।