अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मलाई स्पष्टीकरण सोधिएको छैन, स्पष्टीकरणबारे चलाइएका हल्ला निराधार: रामकुमारी झाँक्री

मलाई स्पष्टीकरण सोधिएको छैन, स्पष्टीकरणबारे चलाइएका हल्ला निराधार: रामकुमारी झाँक्री


काठमाडौं-नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको बताउनु भएको छ।

पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेतृ झाँक्रीले पार्टीका अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला निराधार रहेको बताउनुभएको हो।

अहिलेसम्म कुनै स्पष्टीकरण नसोधिएको र पार्टीका केही नेताहरूले टेलिभिजन र मिडियाबाट स्पष्टीकरण सोधेको भनेर हल्ला फिँजाएको उहाँले बताउनु भयो।

‘केही शक्तिशाली पदाधिकारीहरुले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ, मलाई त सोधिएको छैन,’ नेतृ झाँक्रीले भन्नुभयो, ‘टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भन्ने सुनेको थिएँ, मैले बोलेको कन्टेनको हिसावले। २०८२ असार १५ गते यसबारे कुनै प्रतिक्रिया नदिनु भनेर निर्देशन पनि जारी गरेको थियो। निर्देशनपछि प्रोत्साहन गरे जसरी भयङ्करै बोल्नुभएको छ । व्यक्तिगत तहमा उत्रिएर गाली गरिरहनुभएको छ।’ 

झाँक्रीले स्पष्टीकरण बाहिर सोध्ने विषय नभएको भन्दै यसबारे बैठकमा बोलाइए सविस्तार जवाफ दिने पनि बताउनुभयाे।

बुटवलमा पार्टीसंवद्ध युवा संगठनले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा झाँक्रीले ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं’ भन्ने अभिव्यक्ति दिनुभएकाे थियो।

झाँक्रीको यस्तो अभिव्यक्ति आएपछि पार्टी महासचिव घनश्याम भुसालले जथाभावी अभिव्यक्ति नदिन ध्यानाकर्षण गराउनु भएकाे थियो । स्पष्टीकरण सोधिएको भन्ने समाचार आएको तर आफूलाई नसोधिएको बारेमा पार्टीले गरेको निर्णय बुझ्न आफू नै सचिवालय बैठकमा नेताहरुसँग निवेदन लिएर आएको स्पष्ट पार्नुभयो।