दमक-दमक नगरपालिकाको आर्थिक सहयोग र दिब्यदृष्टि भेनेरेशन एण्ड एग्रो कन्सर्न, कमल-६, झापाको प्राविधिक साझेदारीमा दमकका महिलाहरूले अर्ग्यानिक मच्छडधुप उत्पादनको थालनी गरेको छ।
नीम, कपुर, तुलसी, धुपी लगायतका प्राकृतिक कच्चा पदार्थको प्रयोगबाट उत्पादन गरिएको धुप पूजा प्रयोजनका साथै मच्छड भगाउन समेत उपयोगी हुने जनाइएको छ। १० दिने तालिमपछि २० जना महिलाहरूलाई धुप उत्पादन, ब्रान्डिङ र प्याकेजिङमा दक्ष बनाइएको हो।
तालिमको समापन र बाटेको मच्छड धुपको ब्यवसायीक उत्पादनको उद्घघाटन गर्दै दमक नगर प्रमुख रामकुमार थापाले यस अभियानलाई वातावरणमैत्री तथा स्थानीय उत्पादनको उत्कृष्ट नमूना भएको बताउनुभयो।
नगर प्रमुख थापाले नगरको पहिचानका रूपमा देश-विदेशमा प्रवद्र्धन गरिने प्रतिबद्धता जनाउनु भयो। उहाँले भन्नुभयो, ‘अब हरेक घरमा बालिने धुप अर्ग्यानिक र स्वदेशी बन्नेछ। यसका लागि म सधैं यहाँहरुको साथमा छु।’
‘अब हामी बजारमा विदेशी धुपको भर पर्नु पर्दैन। नगरमै उत्पादित अग्र्यानिक धुप स्वास्थ्यमैत्री, वातावरणमैत्री र रोजगारी सिर्जना गर्ने खालको उत्पादन हो। यसलाई हाम्रो पहिचान बनाउँदै देशभर फैलाउने हाम्रो लक्ष्य रहनेछ।’ थापाले प्रतिबद्धता जनाउनुभयो।
नगरप्रमुख थापाले नगरपालिकाको कार्यक्रम, अतिथि सत्कार र जनस्वास्थ्यको प्रवद्र्धन अभियानमा पनि यो धुपको प्रयोग गर्ने उनको भनाई थियो। ‘यसलाई दमकको चिनो बनाउँदै, स्वदेश तथा विदेशमा समेत फैलाउने योजना बनाउनुपर्छ’ सहभागिहरुलाई उहाँले हौसला दिनुभयो।

नगर उपप्रमुख रेगिना भट्टराई प्रशाईंले यस कार्यलाई सार्वजनिक स्वास्थ्य प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिन सक्ने भन्दै, नगरपालिकाको यस अभियानलाई निरन्तर सहयोग रहने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, ‘निमजस्ता शुद्ध कच्चा पदार्थ प्रयोग गरिएको यो धुप स्वास्थ्यलाई असर नदिने मात्र होइन, मानव हितमै तयार भएको उत्पादन हो। महिला सहभागिता र राम्रो तालिम प्रदायक संस्थाको बलमा यस्तो योजना सफल हुँदैछ।’
प्रादेशिक आर्युवेद अस्पताल लखनपुरका निर्देशक डा. सिद्धार्थ ठाकुरले यस्तो अग्र्यानिक धुप स्वास्थ्यको दृष्टिकोणले समेत महत्वपूर्ण रहेको उल्लेख गर्दै यसलाई नविनतम प्रयोगको रुपमा प्रशंसा गर्नुभयो। ‘निम भएको घर वरिपरि रोग फैलाउने कीटाणु नष्ट हुने जनविश्वास रहेको छ,’ उहाँले थप्नुभयो।
दिब्यदृष्टि भेनेरेशन एण्ड एग्रो कन्सर्नका अध्यक्ष विष्णुप्रसाद पोखरेलले पहिलोपटक पहाडे कागजमा बनाइएको यस्तो मच्छडधुप पहिलो पटक औपचारिक रूपमा उत्पादनमा ल्याइएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, ‘दमक नगरपालिकाको सहकार्यले यो उदाहरणीय कार्य बनेको छ। तालिम तालिममा सिमित बनेन यसले दमकमा एउटा नयाँ उत्पादन र ब्राण्ड जन्माएको छ।’
दिब्यदृष्टिकी सञ्चालिका तथा कार्यकारी प्रमुख बविता तिम्सिनाले आफुहरुले महिलाहरुको आत्मनिर्भरताका लागि यस प्रकारको कार्य गर्दै आएको बताइन । उनले अहिले पनि प्रत्यक्ष र अप्रत्यक्ष गरेर १ सयभन्दा बढि ग्रामिण महिलाहरु आफ्ना उद्योगमा जोडिएको जानकारी दिइन ।
कार्यक्रमको औचित्यमाथि प्रष्ट पार्दै दमक नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सरिता भण्डारीले धेरै तालिमहरु भएको तर यसले एउटा नयाँ आयाम दिएको पाएको जनाईन् ।
तालिम त धेरै हुन्छन् तर यसरी तालिम अवधिमा एउटा ब्राण्ड नै स्थापित बन्दा खुशि लागेको छ । यो निरन्तरता हुनुपर्ने जनाउदै यो बिचमा नछाडन यसमा लागेका महिलाहरुलाई भण्डारीले सचेत गराईन् ।







प्रतिक्रिया