काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे संसद्लाई जानकारी गराउनुभएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर प्रधानमन्त्री ओलीले उक्त सम्मेलनले आर्थिक कूटनीतिका लागि विश्वस्तरमा नयाँ साझेदारी वृद्धि गर्दै दिगो विकास लक्ष्यपूर्तिमा थप गति दिन योगदान दिएको बताउनुभयो।
प्रधानमन्त्री ओलीले उक्त सम्मेलनपूर्व २०८२ असार १४ गते प्रतिनिधिसभाको बैठकमा सम्मेलन र भ्रमणका कार्यसूचीबारे जानकारी गराउनुभएको थियो। सम्मेलनका लागि प्रधानमन्त्री ओलीले २०८२ असार १४ गते त्यसतर्फ प्रस्थान गरी असार २० गते स्वदेश फर्कनुभएको थियो।

सम्मेलनमा प्रधानमन्त्री ओलीले अतिकमविकसित मुलुकका तर्फबाट अगुवाइ गर्दै सम्बोधनका क्रममा यी मुलुकको न्यायपूर्ण एवं आर्थिक सामाजिक विकासका पक्षमा वकालत गरेको जानकारी गराउनुभयो। सेभिया प्रतिबद्धताको कार्यान्वयनबाट ती मुलुकले आफ्नो स्तरोन्नतिका लागि विश्वस्तरको साथ र सहयोग प्राप्त हुने अपेक्षा गर्दै प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नती हुने अवगत गराउनुभयो।
प्रधानमन्त्री ओलीले भ्रमणबाट वैदेशिक र राष्ट्रसङ्घसँगको सम्बन्ध सुदृढ हुनुका साथै अतिकम विकसित मुलुकको विकासको पक्षमा पैरवी भएको बताउनुभयो। ‘विकास वित्तसम्बन्धी अपेक्षा, औपचारिक र अनौपचारिक विकास सहयोगका साथै जलवायु वित्तमा पनि सहयोगका लागि आव्हान गरिएको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विकास साझेदारीका प्राथमिकताहरु मुखरितका प्रयास गरिएको छ। नेपाल अन्तर्राष्ट्रिय समुदायमा एक जिम्मेवार र सक्षम मुलुक सावित भएको छ । आर्थिक कूटनीतिलाई अगाडि बढाउने र वैदेशिक लगानीवृद्धि हुने अपेक्षा गरिएको छ।’

सम्मेलनका अवसरमा अति कम विकसित राष्ट्रहरुको समूहको बैठकलाई अध्यक्षतासहित सम्बोधन, विभिन्न साइलाइड वार्ता र गोलमेच सम्मेलनमा आफ्नो नेतृत्व, वकालत प्रतिबद्धताबारे सदनलाई प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो। नेपालले ४४ वटा अतिकम विकसित मुलुकहरु रहेकामा नेपालले उक्त सम्मेलनका अवसरमा नेपालले ती मुलुकहरु सामु प्रभावकारी नेतृत्व गर्न सक्के झल्को दिएको स्पष्ट गर्नुभयो।
सम्मेलनको अघिल्लो दिन प्रधानमन्त्री ओलीले नागरिक समाजको भेलालाई सम्बोधन गरी सशक्त नागरिक समाजको खबरदारीपूर्ण भूमिकाको लागि आव्हान गरेको जानकारी गराउनुभयो। नेपालले नागरिक समाजका लागि लोकतान्त्रिक र उदार व्यवस्था लिएको पनि प्रधानमन्त्री ओलीले अवगत गराउनुभएको थियो।
सम्मेलनका अवसरमा प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष) पोद्रो साञ्चेजबीच दुईपक्षीय भेटवार्ता भएको थियो।








प्रतिक्रिया