काठमाडौं-नेकपा एमालेका सांसद अच्युत प्रसाद मैनालीले दुग्ध विकास संस्थान र निजी डेरी उद्योगबाट देशभरका किसानहरुले पाउनु पर्ने रकम भुक्तानीको लागि कृषि मन्त्रालयको ध्यानाकर्षण गराउनु भएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद मैनालीले रकम भुक्तानीको लागि कृषि मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको हो।
सांसद मैनालीले भन्नुभयो, ‘कृषि र पशुपालन जनताको पेशा र जीवन आधार हो। दुग्ध विकास संस्थान र निजी डेरी उद्योगबाट पाउनुपर्ने करीब ५ अर्ब पैसा मुलुकभरका किसानहरुले ६ महिना देखि पाउन बाँकी छ। त्यसैले तत्काल दूधको रकम भुक्तानीको लागि कृषि मन्त्रालयको गम्भीर ध्यानाकर्षण गर्दछु।’
सांसद मैनालीले पशुपालन किसानलाई दिने सहुलियतपूर्ण कर्जा पनि रोकिएको बताउनु भयो। उहाँले दुग्ध उत्पादनमा लागत न्यूनीकरणको कार्यक्रमको लागि पालिका स्थरमा सशर्त बजेट कार्यक्रम व्यवस्थापनको लागि सरकारसँग अनुरोध गर्नुभएको छ। सांसद मैनालीले भन्नुभयो, ‘पशुपालन किसानलाई दिने सहुलियतपूर्ण कर्जा रोकिएको छ। साथै किसानको दुग्ध उत्पादन लागत बढी हुने हुँदा दुग्ध उत्पादनमा लागत न्यूनीकरणको कार्यक्रमको लागि पालिका स्थरमा सशर्त बजेट कार्यक्रम व्यवस्थापनको लागि नेपाल सरकारसँग अनुरोध गर्दछु।’
सांसद मैनालीले पशु बीमा गर्न एउटै विवरणको लागि कृषक, बीमा कम्पनी , बीमा प्राधिकरण र पशु प्राविधिकले पटक-पटक भर्नुपर्ने हुँदा प्रविष्ठी प्रणाली अत्यन्तै झन्झटिलो भएकाेले अनलाइन सिस्टमलाई एकीकृत गरी सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन अर्थ मन्त्रालय, कृषि मन्त्रालय , बीमा प्राधिकरण र बीमा कम्पनीको ध्यानाकर्षण गराउनुभयाे । उहाँले भन्नुभयाे, ‘हाल पशु बीमा गर्न एउटै विवरणको लागि कृषक, बीमा कम्पनी , बीमा प्राधिकरण र पशु प्राविधिकले पटक-पटक भर्नुपर्ने हुँदा प्रविष्ठी प्रणाली अत्यन्तै झन्झटिलो भएकोले online System लाई एकीकृत गरी सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन अर्थ मन्त्रालय , कृषि मन्त्रालय, बीमा प्राधिकरण र बीमा कम्पनीको ध्यानाकर्षण गर्दछु।’
सांसद मैनालीले अनुदान सिफारिस पत्रको लागि बीमा कम्पनीहरुले हाल कृषि ज्ञान तथा विज्ञ केन्द्रबाट लिनुपर्ने व्यवस्थालाई प्रत्येक स्थानीय तहको पशु सेवा शाखाबाट नै लिने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ।
भिडियो







प्रतिक्रिया