काठमाडौं -नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको बहुदलीय जनवादको विकास क्रमको ब्याख्या गर्दै पार्टीको एघारौं महाधिवेशनमा परिपूर्ण लोकतन्त्र र नेपाली विशेषताको समाजवाद निर्माणको आधार तय गर्ने विषयमा छलफल गर्न पार्टीपंक्तीलाई आश्वान गर्नुभएको छ ।
सामाजिक सञ्जालमा जबजका उद्भव देखि हालसम्मको ‘क्रोनोलोजी’ प्रष्तुत गर्दै महासचिव पोखरेलले चौथो राष्ट्रिय महाधिवेशनमा नयाँ जनवादमा बहुदलीयतालाई स्विकार्ने निर्णय भएको र सोही नीतिको जगमा संयुक्त जनआन्दोलन मार्फत पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन सफल भएको उल्लेख गर्नुभएको छ । विधान महाविधेशनको बहस पार्टी भित्र चर्किरहेका बेला महासचिव पोखरेलले जबजको इतिहास खोतल्नु भएको छ । उहाँले कुन महाधिवेशनमा जबजलाई कसरी अंगिकार गरियो र त्यसको कार्यन्वयनले नेपाली राजनीतिमा के कस्तो परिणाम दियो भन्ने विषय पनि स्पष्ट पार्नुभएको छ ।
‘पाँचौ राष्ट्रि महाधिवेशनमा नेपाली क्रान्तीको मौलिक कार्यक्रमका रुपमा जनताको बहुदलीय जनवाद अत्याधिक बहुमतबाट स्विकृत’ महासचिव पोखरेल सामाजिक सञ्जालमा लेख्नुहुन्छ ‘२०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा कम्यूनिष्ट नेतृत्वको सरकार गठन भयो ।’े छैटौं महाधिवेशनमा आइपुग्दा जबज कार्यक्रम मात्र नभएर नेपाली क्रान्तीको नेतृत्वकारी बिचारका रुपमा स्थापित भएको महासचिव पोखरेलको दाबी छ । सातौ महाधिवेशनमा जबजको मान्यतामा आधारित अध्यक्षात्मक प्रणालीको प्रष्तुत गरेर स्थगन गरिएको पोखरेलले उल्लेख गर्नुभएको छ । यो महाधिवेशनमा संविधानसभा मार्फत राज्यको पुनर्संरचना सम्बन्धी फरक मत राखिए पनि महाधिवेशनबाट अस्विकृत भएको पोखरेलले उल्लेख गर्नुभएको छ । तर यही महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीको नवौं बैठकले महाधिवेशनमा अस्विकृत भएको प्रस्ताव पारित गरेको जानकारी पनि महासचिवले दिनुभएको छ ।
आठौं महाधिवेशनमा जबजकै जगमा पार्टीको लोकतान्त्रिकरणको मान्यताका रुपमा अनुमोदित र सोही अनुसारको बैधानिक व्यवस्था निर्माण भएको पोखरेलले उल्लेख गर्नुभएको छ । एमालेले अंगिकार गरेको यो प्रणालीले अन्य राजनीतिक दललाई समेत प्रभावित गरेको उहाँले उल्लेख गर्नुभएको छ । यसै महाधिवेशनबाटै जनताको बहुदलीय जनवाद नेपाली क्रान्तीको सिद्धान्तको रुपमा स्थापित भएको महासचिव पोखरेलले लेख्नु भएको छ । नवौं महाधिवेशनमा जबजको मान्यताकै आधारमा २०६२÷०६३ सालको जनआन्दोलन सफल भएको र २०४७ सालको संविधानमा पार्टीले राखेको २७ बुँदे असहमति पुनस्र्थापित प्रतिनिधीसभाको ऐतिहासिक घोषणा मार्फत अनुमोदन भएको पोखरेले उल्लेख गर्नुभएको छ । नवौं महाधिवेशनले नै जबजको सान्दर्भिकता नेपाली राजनीतिमा अपरिहार्य रहेको निष्कर्ष निकालेको उहाँको भनाइ छ ।
दशौं राष्ट्रिय महाधिवेशनमा जबजको मार्गदर्शनमा समाजवादको आधार तयार गर्ने नीति अनुरुप समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा र संकल्प अनुमोदन भएको महासचिव पोखरेलले उल्लेख गर्नुभएको छ । ‘आसन्न एघारौं महाधिवेशनमा जबजको मार्गदर्शनमा परिपूर्ण लोकतन्त्र र नेपाली विशेषताको समाजवाद निर्माणको आधार तयार गर्ने कुरामा छलफललाई केन्द्रित गरौं’ महासचिव पोखरेलले आहवन गर्नुभएको छ ।






प्रतिक्रिया