काठमाडौं-गए राति रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। हालसम्म ७ जनाको शव फेला परेको छ भने २० जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
पछिल्लो अपडेटअनुसार गोरखाका २ जना पनि सम्पर्कबिहीन भएको जानकारी आएकाले बेपत्ताको संख्या २० पुगेको रसुवा प्रहरीले जनाएको हो। सम्पर्कविहीन हुनेमा गोरखा पालुङ्टार नगरपालिका-६ का डीलबहादुर तामाङ र धनबहादुर तामाङ रहेका छन्। यसअघि रसुवागढी भन्सार यार्डमा कार्यरत ९ नेपाली र ६ जना चिनियाँ गरी १५ जना हराइरहेका थिए।
नेपाली सेनाका अनुसार रसुवामा मंगलबार बिहान भोटेकोसीको आएको बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उनीहरूको उद्धार गरिएको हो। उद्धार गरिएकामध्ये ५१ जना पुरुष र ४ जना महिला छन्।
यस्तै उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत ३ जना प्रहरी कर्मचारी पनि बाढीमा बेपत्ता छन्। यस्तै, बाढीले रसुवागढीमा १०० वटा भन्दाधेरै गाडी बगाएको छ।
बेपत्ता प्रहरी ३ जना
लालबहादुर श्रेष्ठ, प्रहरी सहायक निरीक्षक (रामेछाप)
मुन्ना ठाकुर, प्रहरी जवान (बारा)
लोकेन्द्र बोहोरा, प्रहरी जवान (बझाङ)
बेपत्ता ११ नेपाली नागरिक
जिपन चौधरी, ३६, बर्दिया
सन्तोष दहित, ३५, बर्दिया
बुद्धिराम थारु, २५, बर्दिया
लक्ष्मीनारायण थारु, २४, बर्दिया
सुरेश थारु, ३०, बर्दिया
नरेन्द्र विक, बागलुङ
फुर्वा लामा, सिन्धुपाल्चोक
गोविन्द मोक्तान, ठेगाना नखुलेको
लोकमान तामाङ, ठेगाना नखुलेको
डीलबहादुर तामाङ, गोरखा
धनबहादुर तामाङ, गोरखा
यस्तै बाढीमा ६ जना चिनियाँ नागरिक पनि हराइरहेका छन्।
-चिनियाँ पुरुष यु युए
-चिनियाँ पुरुष लि हुक्वाइङ
-चिनियाँ पुरुष नै याङ चुआन
-चिनियाँ पुरुष यु हाइ हाङ
-चिनियाँ पुरुष यु छिआओ कुई
-चिनियाँ पुरुष जोउ योङ
बाढीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये गोसाइँकुण्ड गाउँपालिका (१, २, ३), आमाछोदिङ्मो गाउँपालिका (१, २, ४, ५), उत्तरगया गाउँपालिका (२, ४, ५), र कालिका गाउँपालिका १ रहेका छन्।
बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुल पनि बगाएको छ। त्यस्तै ईभी चार्जिङ स्टेशन पूर्ण रुपमा ध्वस्त भएको छ। भन्सार कार्यालय र ट्रान्सपोर्ट यार्डमा क्षति पुगेको प्रहरीले जनाएको छ। रसुवागढी हाइड्रोपावरको ड्याम क्षतिग्रस्त छ।







प्रतिक्रिया