काठमाडौं-उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग खाद्य तथा कृषि संगठन (FAO) का नेपाल तथा भूटानका प्रतिनिधि केन शिमिजुले शिष्टाचार भेट गर्नुभएको छ।
भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र FAO सन् १९५१ देखि नजिक र फलदायी साझेदारीमा रहेका र FAO को प्राविधिक तथा नीतिगत सहयोगले नेपालको कृषि विकास र खाद्य सुरक्षाका लक्ष्यहरूलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। यहाँको सिँचाइ प्रणालीलाई आधुनिक बनाउने, बाली उत्पादनमा सुधार गर्ने, प्राकृतिक स्रोतहरू दिगो तरिकाले व्यवस्थापन गर्ने र २०१५ को भूकम्प तथा कोभिड-१९ महामारीजस्ता विपद्हरूमा प्रभावकारी रूपमा प्रतिक्रिया जनाउनेमा FAO को सहयोगको लागि धन्यवाद दिनुभयो।

साथै, भविष्यमा नेपाल र FAO बीचको साझेदारी अझ बलियो र गहिरो हुने विश्वास गर्दै खाद्य सुरक्षा सुदृढ पार्न, ग्रामीण जीविकोपार्जनमा सुधार ल्याउन, विपद् जोखिम न्यूनीकरणका लागि क्षमता निर्माणमा निरन्तर सहयोगको लागि अपेक्षा राख्नुभयो।
यसै बीच मन्त्री भण्डारीले नेपालको खाद्य निर्यात, यसमा भोगिरहेको कठिनाई र औद्योगिक वौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी समस्याको कानुनी रुपमा समाधान गर्न यस मन्त्रालयबाट औद्योगिक सम्पत्ति विधयेक, २०८२ संघीय संसदमा दर्ता भई विचाराधीन अवस्थामा रहेको समेत जानकारी गराउनु भयो।
छलफलको क्रममा FAO का लागि नेपालका प्रतिनिधि केन शिमिजुले नेपालका कृषि तथा खाद्य प्रणालीमा FAO को भूमिका र नेपाल सरकारसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नेपालका स्थानीय कृषि उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा पहुँच पु्र्याउन निर्यात प्रवद्र्धनमा FAO को चासो रहेको कुरा व्यक्त गर्नुभयो। त्यसका लागि औद्योगिक सम्पत्ति संरक्षण अन्तर्गत भौगोलिक संकेत (Geographical Indication) को माध्यमबाट खाद्य उत्पादनहरूको मूल्य अभिवृद्धि गर्दै क्षेत्रीय र विश्वव्यापी बजारमा पु–याउन सकिने सम्भावना र क्षमता अभिवृद्धि सम्बन्धी सहयोग आदान प्रदान गर्न सकिने बारे छलफल गर्नुभयो।







प्रतिक्रिया