अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज यी नदीमा बाढीको जोखिम, सतर्कता अपनाउन सुझाव

आज यी नदीमा बाढीको जोखिम, सतर्कता अपनाउन सुझाव


काठमाडौँ-जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म देशका अधिकांश प्रमुख नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ।

आज बिहान जारी बाढी पूर्वानुमान बुलेटिनअनुसार कोशी, नारायणी, कर्णाली, महाकाली लगायतका प्रमुख नदी प्रणालीमा पानीको बहाव निरन्तर बढ्ने देखिएको हो।

विभागका अनुसार आगामी तीन दिन कोशी प्रदेशका सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशीमा पानीको बहाव उल्लेख्य बढ्ने छ। त्यसैगरी, नारायणी बेसिनका नारायणी, त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकीमा पनि बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान छ।

यस्तै, कर्णाली, महाकाली, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा समेत जलसतह उल्लेख्य रूपमा बढ्नेछ। हाल यी नदीहरूमा बहाव सतर्कता तहभन्दा तल रहे पनि निरन्तर वर्षाका कारण जुनसुकै बेला खतराको तह पार गर्न सक्ने विभागले चेतावनी दिएको छ।

यस्तै, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, रौतहट, बारा, पर्सा, दोलखा, रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, स्याङ्जा, बागलुङ, पर्वत, गुल्मी, प्यूठान, अर्घाखाँची र रुपन्देही जिल्ला भई बहने साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ।

त्यसैगरी, सुदूरपश्चिम र कर्णालीका अधिकांश जिल्लाहरू तथा लुम्बिनी, गण्डकी र कोशी प्रदेशका अन्य धेरै जिल्लाहरूमा मध्यम जोखिम रहेको पूर्वानुमान गरिएको छ।

विभागले नदी तटीय क्षेत्र, खोला किनार र पहिरोको जोखिम भएका क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र आवश्यक परेमा पूर्वतयारी गर्न विशेष अनुरोध गरेको छ। यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिएर मात्र अगाडि बढ्न पनि आग्रह गरिएको छ।