विराटनगर-नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो पूर्ण बैठकले वार्षिक कार्ययोजना २०८२, कार्ययोजना पारित गरेको छ। महानगर कमिटीको शुक्रबार बसेको बैठकले कार्ययोजना पारित गरेको हो।
बैठकबाट महानगर कमिटीको वार्षिक कार्ययोजना २०८२, कार्ययोजना कार्यान्वयनको लागि कार्यतालिका र वार्षिक बजेट २०८२ अनुमोदित भएको एमाले विराटनगरका सचिव विज्ञान चापागाईंले बताउनुभयाे । २०८२ को कार्ययोजना विशेषत जनसंगठन परिचालन र वडा कमिटी सुदृढीकरण, लेवी व्यवस्थापन लगायतका काम गर्ने निर्णय पनि बैठकले गरेको छ।

सचिव चापागाईंका अनुसार बैठकमार्फत संगठनलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ मनोनयनसमेत गरिएको छ। महानगर कमिटीको सचिवालय सदस्यमा विष्णु पौडेल, राम पाण्डे, प्रमोद खतिवडा, तुलसी घिमिरे र संगीता देवलाई मनोनित गरिएको छ। यस्तै, कमिटी सदस्यका रूपमा जितन थापा, प्रवेशकुमार लम्साल, अवोध गौतम र सुरेन शाक्यलाई जिम्मेवारी दिइएको चापागाईंले बताउनुभयाे ।

बैठकले विभिन्न विभागहरूको नेतृत्व पनि तोकेको छ। स्कुल विभागको प्रमुखमा बलराम गिरी र उपप्रमुखमा हिमा मैनाली, संगठन विभागको प्रमुखमा विज्ञान चापागाईं र कोष तथा वित्त व्यवस्थापन विभागको जिम्मा सुरज न्यौपानेलाई दिइएको छ। प्रचारप्रसार तथा प्रकाशन विभागको प्रमुखमा हमिद आजादलाई तोकिएको छ भने निर्वाचन समितिको संयोजकमा विष्णु तामाङलाई मनोनित गरिएको छ।
यसैगरी, महानगरको दीर्घकालीन विकास दृष्टिकोणसहितको समृद्ध विराटनगर कार्ययोजना कार्यदल गठन गरिएको छ। यस कार्यदलको संयोजकमा बलराम गिरी, सदस्यसचिवमा विज्ञान चापागाईं, सदस्यमा पालिकाका सभादल प्रमुख, उपप्रमुख र विज्ञ सदस्यहरू रहने गरी संरचना तयार गरिएको छ। विज्ञ सदस्यहरू पछि थप गरिने निर्णय समेत बैठकले गरेको छ।
संगठनको आर्थिक पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न लेखा समितिको संयोजकमा बोधराज घिमिरेलाई मनोनयन गरिएको छ। बैठकमा पार्टीको प्रशिक्षण प्रतिवेदन पारित गर्दै त्यसको प्रयोगमार्फत कार्यकर्ताको दक्षता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
महानगर कमिटीको पूर्ण बैठकलाई पार्टीले सांगठनिक सुदृढीकरण, अनुशासन र आगामी निर्वाचन लक्षित योजनाको आधारशीला मानिएको सचिव चापागाईंको भनाइ छ।
पार्टी कार्यालय पाञ्चालीमा एमाले विराटनगर अध्यक्ष बलराम गिरीको अध्यक्षतामा सम्पन्न बैठकको प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य तथा मोरङ जिल्ला कमिटी इन्चार्ज जीवन घिमिरे हुनुहुन्थ्रयाे । बैठकमा कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा विराटनगर महानगर इन्चार्ज परशुराम बस्नेत, जिल्ला कमिटी उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा र उपसचिव सन्तोष बान्तवालगायतलाई विशेष अतिथिका रुपमा निम्ता गरिएको थियो ।






प्रतिक्रिया