अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गाउँमा यसरी सम्भावना खोज्न सकिन्छ,विदेश पलायन यसरी रोकिन सक्छ

गाउँमा यसरी सम्भावना खोज्न सकिन्छ,विदेश पलायन यसरी रोकिन सक्छ



नेपालमा विदेश जाने प्रवृत्ति नयाँ होइन। तर पछिल्लो दशकमा यो प्रवृत्ति होइन, रहर बनिसकेको छ। आज प्रत्येक सानो परिवारमा कम्तिमा एकजना त विदेशमै छन्। संयुक्त परिवारमा त दुईदेखि तीनजना विदेशिनु सामान्य भइसकेको छ। गाउँहरू सुनसान छन्, ढोकाहरू थुनिएका छन्, आँगनमा खेल्ने बालबालिका छैनन्, बचेका छन् त केवल बुढाबाआमा र सम्झनाले भरिएका निधारहरू।

विदेशिने रहर कि बाध्यता ?
देशमा अवसर छैन भन्ने बुझाइले गर्दा युवा पुस्ता विदेशिन बाध्य भएको जस्तो देखिए पनि प्रश्न उठ्छ—के साँच्चै अवसर छैन त ? कि हामीले प्रयास नै गर्न छाडेका हौं? लाखौं रुपैयाँ ऋण उठाएर विदेश जाने सपना देख्छौं, तर त्यही लगानी देशमै गरेर व्यवसाय गर्ने सोचलाई हामी किन गम्भीरतापूर्वक लिंदैनौं?
विदेश जान गाउँको जग्गाजमिन धितो राखेर ऋण पाइन्छ। आफन्तले पनि ऋण पत्याउँछन्। तर देशमा व्यवसाय गर्ने हो भने बैंकले पनि पत्याउदैन,आफन्त मुख फर्काउँछन्।

कुनै पनि विचार वा योजनाभन्दा पहिला गोजीको मोटाइ हेर्ने परिपाटीले उत्साही युवालाई निरुत्साहित बनाएको यथार्थ नै हो।

गाउँ छोड्ने सोच, शहरमुखी प्रवृत्ति

गाउँमा अब बालबालिका देखिन्नन्। पढ्ने उमेरका बालबालिकालाई सहरतिर बोर्डिङ स्कुलमा पठाइन्छन्, किनभने सरकारी स्कुलमा पढाइ राम्रो हुदैन र सरकारी स्कुलमा पढेर केही हुदैन भन्ने सोच व्यापक छ। अचम्म त के छ भने, जनप्रतिनिधि र त्यही सरकारी विद्यालयमा पढाउने शिक्षकहरू समेत आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाउँछन्। आफूले बनाएको नीति र पढाएको शिक्षामाथि पनि विश्वास नगर्ने अवस्था बनिसकेको छ।
सरकारी विद्यालयहरूमा विद्यार्थीको संख्या घट्दै जाँदा कतिपय विद्यालय मर्ज भए, कतिपय तह घटाइए। लाखौं खर्च गरेर बनाइएका विद्यालय भवनहरू सुनसान छन्, जिर्ण हुँदैछन्। झ्याल ढोका झुण्डिएका छन्। गाउँको बासिन्दा सहरमुखी बनेका छन्, खेत बाँझिएका छन्। विकास गाउँ पुगे पनि जनशक्ति भने गाउँ छोड्दै छन्।
विदेशको चमक र यथार्थको खाडल
विदेशमा गएका सबैले सफलता पाउँदैनन्। केहीले राम्रो कमाए होलान्, तर एजेन्टको झुटा प्रलोभनमा परी छिट्टै धनी बन्ने सपनाले पुर्खाको थलो धितोमा राख्दा त्यो समेत गुमाएका छन्। अध्ययन, रोजगारी वा भविष्यको सपना बोकेर गएका हजारौं युवा आज मानसिक तनाव, बेरोजगारी र कानुनी समस्यामा परेका तीतो यथार्थ हामीसँगै छ।
अचम्म त के छ भने, नेपालमा मान–अपमानको डरले जुन काम गर्न हामी हिच्किचाउँछौं, त्यही काम विदेशमा आत्मसम्मानका साथ गर्छौं। होटल, रेस्टुरेन्ट, क्लिनिङ, वा स्टोरमा काम गर्दा हामी गर्व गर्छौं, किनभने “यहाँ पैसा छ, कसैले देख्दैन” भन्ने सोच हावी हुन्छ। तर के पैसा नै सबैथोक हो ?
दोष नेतामात्र होइन, सोचमा छ
हामी नेताहरूलाई गाली गर्छौं, देशलाई दोष दिन्छौं। तर चुनाव आउँदा चाहिँ विचार होइन, पार्टी हेर्छौं, पैसा हेर्छौं। जनताले राजनीति विचारभन्दा पार्टी र पैसाको आधारमा मतदान गर्दा सच्चा परिवर्तनको सम्भावना हराएको छ, विचार गुमेको छ।
राजनीतिक दलले पनि विचारको मूल्यांकनभन्दा पैसावालालाई अघि बढाउँछन्। यस्तो अवस्थाले इमानदार, लगनशील, र देशप्रेमी युवाको स्थान कहिल्यै सुनिश्चित हुँदैन। सुधारको बाटोमा हिँड्न खोज्ने धेरै युवा निराश हुँदै विदेशिन्छन्।

फर्कौं, तर दोष होइन, दिशा लिएर
कोही विदेश नगएकै राम्रो भन्ने होइन। तर विदेश जानुअघि वा गईसकेपछि आत्ममूल्यांकन आवश्यक छ—मैले जे मेहनत विदेशमा गरिरहेको छु, त्यही मेहनत देशमै गरेको भए के हुँदैनथ्यो ?
विदेशमा बस्ने धेरैले मनमनै महसुस गर्छन्—यत्तिको लगानी, दुःख र समर्पण यदि देशमै गरेको भए, बाआमाको साथमा रमाइन्थ्यो, गाउँको घर रित्तिंदैनथ्यो, पुर्खाको थलो बच्थ्यो।

हामीले देशको दोष मात्रै होइन, समाधान पनि खोज्नुपर्छ। गाउँ फर्कौं। देशमै लगानी गरेर कृषि, पशुपालन, पर्यटन वा साना व्यवसाय गर्न सकिन्छ। अप्ठ्यारो छ, तर सम्भव छ।
अब समय आयो—देश छोड्ने भीड होइन, देश बनाउने भीड बनौं। गाउँ फर्कौं, विश्वास फर्काऔं, बढ्दै गएको निराशालाई आशामा बदलौं अनि भविष्य फर्काऔं—आफ्नै भूमि, आफ्नै माटोमा केही गरौँ।

स्थानीय सरकारको भूमिका

संघीयतामा स्थानीय सरकार निर्णयसामर्थ्ययुक्त बलियो संरचना हो। अब उपलब्धिहीन, कार्यकर्ता केन्द्रित, टुक्रे बजेट र पहुँचमुखि अनुदानको अन्त्य गर्दै स्थायी रोजगारी सिर्जना गर्ने स्थानीय उद्योग सञ्चालनमा अघि बढ्न आवश्यक छ। प्रत्येक वर्ष “रोजगारी” र “सीप”का नाममा खर्च हुने बजेट कागज र फोटोमा सीमित रहँदै आएको अवस्थामा अब वास्तविक समाधान खोजिनुपर्छ।

गाउँ रित्तिंदै छन्, खेत बाँझिँदै छन्, र युवा विदेश पलायन भइरहेका छन्। यस्तो संकटको घडीमा पालिकाले आफ्ना स्रोत, सीप र साधनको प्रयोग गरी स्थानीय उत्पादनमा आधारित उद्योगहरू सुरु गर्नुपर्छ, जसमा बजेट व्यवस्थापन, कार्यान्वयन र विस्तारको जिम्मा स्थानीय तहले लिने र प्रत्येक बर्ष यसको दायरालाई  फराकिलो बनाउदै जानुपर्छ।यसरी गाउँमै रोजगारी सिर्जना गरेर विदेश पलायन रोक्न सकिन्छ।