काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो।
प्रधानमन्त्रीले सामाजिक सञ्जाल लेख्नुभएको छ, ‘आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती। आदिकवि, जसले नेपाली मनमा रामायण रोपेर जानुभयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो। नेपाली भाषामा आदिलेखन थालनी गर्नुभएका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना।’

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ। उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको हो।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिनुभएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो । ‘वधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फूटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेख्नुभएको थियो– ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’।
नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उहाँको सम्मान गर्नुपर्ने र उहाँका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ ।







प्रतिक्रिया