अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्राप्त उपलब्धीको रक्षा गर्नु नेपाली समाजको प्रमुख जिम्मेवारी

प्राप्त उपलब्धीको रक्षा गर्नु नेपाली समाजको प्रमुख जिम्मेवारी


काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्राप्त उपलब्धिको रक्षा गर्नु आजको नेपाली समाजको प्रमुख जिम्मेवारी भएको बताउनुभएको छ ।

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) को २६ औँ स्थापना दिवसका अवसरमा आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आजको अधिकार प्राप्तिको लागि धेरै त्याग र बलिदान भएको बताउनुभयो । यसमा नेपालका राजनीतिक दलले निक्कै ठुलो संघर्ष गर्नुपरेको उहाँले स्मरण गराउनुभयो ।

२००७ को परिवर्तन पछि नेपाली जनताले केही अधिकार पाएका भए पनि पुनः राजाहरूले त्यो खोसेका पोखरेलले बताउनुभयो । नेपालका राजनीतिक दलहरूले राजनीतिक अधिकार प्राप्तिका लागि नै लामो समय लड्नु परेको उहाँले सुनाउनुभयो । नेपालमा राजनीतिक दलिले शासन नै गर्न नपाएका बताउँदै राजाहरू नेपाली जनतालाई अधिकार दिन कहिल्यै तयार नभएका उहाँले स्पष्ट पार्नुभयो ।

राज्य कमजोर हुँदा नागरिक बलियो हुन नसक्ने बताउँदै उहाँले राज्य खोक्रो भएका कारण नागरिकलाई संविधानले दिएका आधारभूत अधिकार पनि दिन नसक्ने अवस्था नआएको स्पष्ट पार्नुभयो । अधिकारको मात्र कुरा गर्न, कर्तव्य निर्वाह नगर्ने कुराले देश कमजोर भएको पोखरेलको धारणा छ । ‘अधिकारसँग नागरिक कर्तव्यलाई जोड्ने कुरामा हामी चुक्यौँ, त्यसकारण मानव अधिकारको आन्दोलन अधिकारसँग कर्तव्यलाई जोडेर अघि बढ्नु पर्छ’, उहाँले भन्नुभयो ।

लोकतान्त्रिक राज्य जति बलियो हुन्छ त्यति नै मानव अधिकार सुनिश्चित हुने उहाँले बताउनुभयो । राज्यलाई मानवअधिकार विरोधी भनि गरिने परिभाषा नै गलत भएको पोखरेलको धारणा छ । यसले सामाजिक अराजकता बढाउने उहाँको उहाँको भनाइ छ । सामाजिक अराजकताले अन्ततः राज्यलाई कमजोर बनाउने र मुलुकको विकासलाई रोक्ने उहाँले धारणा राख्नु भयो । सामाजिक अराजकताले साम्राज्यवादको सेवा गर्ने उहाँले स्पष्ट पार्नुभयो । लोकतान्त्रिक राज्य मानवअधिकार विरोधी नभई मानवअधिकारको रक्षक भएको उहाँले बताउनुभयो ।

वर्तमानको निराशामा टेकेर लोकप्रिय कुरा गरी समाजमा भ्रम फिँजाएर राजनीति गर्नेहरूले देश र जनताको हितमा काम नगर्ने उहाँको धारणा छ । उनीहरूले सामाजिक अराजकता बढाउने र प्रतिगमनलाई नै सहयोग पुर्‍याउने पोखरेलले बताउनुभयो ।

पोखरेलले नेपालको आर्थिक विकासमा अहिले नयाँ चुनौती सिर्जना भएको बताउनुभयो । पढेलेखेको युवा पुस्ता देश भित्र केही गर्ने होइन बाहिर जाने सपना बोकेर बसेको बताउँदै उहाँले यो देश विकासको लागि सबैभन्दा ठुलो चुनौती भएको स्पष्ट पार्नुभयो । ‘काम गर्ने उमेरका सबै मान्छे विदेश गएपछि देश बन्छ कसरी रु काम गर्ने मान्छे सबै विदेश जाने, अनि देश बनेन भनेर गाली गर्ने, देश बनेन भनेर चिन्ता मात्र गरेर हुँदैन, यसको लागि देशमा नै बसेर काम गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

देशलाई समृद्ध बनाउने हो भने नागरिकहरू समृद्धिको यात्रामा जुट्नै पर्ने उहाँले बताउनुभयो । सबै देश त्यही देशका नागरिकले नै बनाएका बताउँदै उहाँले देश बनाउने हो भने नागरिक नै जुट्नु पर्ने धारणा राख्नु भयो ।

राम्रो आम्दानी हुने साना साना काममा नेपाली युवाको ध्यान नपुगेको बताउँदै उहाँले देशमा काम छाडेर विदेश जाने लहर बढ्नु दुःखको कुरा भएको बताउनुभयो । नेपालबाट रोजगारीको लागि विदेश जाने भन्दा रोजगारीको लागि भारतबाट नेपाल आउनेको सङ्ख्या बढी भएको पोखरेलले सुनाउनुभयो । ‘नयाँ पुस्तालाई हामीले सिपसँग जोड्न सकेनौँ, उद्यमसँग जोड्न सकेनौँ’, उहाँले भन्नुभयो ।

पोखरेलले अहिलेको अस्थिरताको मुख्य कारण राजनीतिक अस्थिरता नै भएको बताउनुभयो । यसको लागि एमालेलाई बलियो राजनीतिक शक्तिको रूपमा स्थापित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।