अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्यमन्त्री कार्की र एफएओ प्रतिनिधिबीच भेटवार्ता

मुख्यमन्त्री कार्की र एफएओ प्रतिनिधिबीच भेटवार्ता

कृषि र जलवायुका क्षेत्रमा सहकार्यको प्रतिबद्धता


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ)का नेपाल तथा भुटानका लागि प्रतिनिधि केन सिमिजुबीच आज विराटनगरमा भेटवार्ता भएको छ।

मुख्यमन्त्री कार्यालयमा भएको उक्त भेटमा प्रदेशको कृषि, जलवायु परिवर्तन र वातावरणीय संरक्षणका विषयमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो। सो अवसरमा मुख्यमन्त्री कार्कीले एफएओमार्फत कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेका परियोजनाप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा थप प्रभावकारी सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो।

मुख्यमन्त्री कार्कीले विशेषगरी मध्यपहाडी जिल्लामा वातावरणीय प्रभाव न्यूनीकरण, कृषि तथा उच्च मूल्यका फलफूलको उत्पादन, बजारीकरण र व्यवस्थापनका क्षेत्रमा एफएओको प्राविधिक र व्यवस्थागत सहयोगको आवश्यकता औंल्याउनुभयो। साथै, जलवायु परिवर्तन र विपद् जोखिम न्युनिकरणका क्षेत्रमा सहकार्य गरेर ठोस उपलब्धि हासिल गर्न सकिनेमा उहाँले जोड दिनुभयाे ।

“कोशी प्रदेश हिमाल, पहाड र तराईको भौगोलिक विविधतासहित जैविक विविधताको धनी प्रदेश हो। जलवायु र कृषि उत्पादनका क्षेत्रमा यहाँ अझ धेरै सम्भावना छन्,” मुख्यमन्त्री कार्कीले बताउनुभयो। उहाँले आगामी आर्थिक वर्षमा विश्व रामसार दिवसको अवसरमा जलवायु परिवर्तनका असरबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी भइरहेको जानकारी समेत दिनुभयो ।

संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका प्रतिनिधि केन सिमिजुले पनि एफएओ प्रदेश सरकारसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताउनुभयो। उहाँले एफएओको क्षेत्रीय सम्पर्क कार्यालय स्थापना गरी अझ व्यवस्थित रूपमा सहकार्य अघि बढाउने योजना रहेको जानकारी गराउनुभयो।

एफएओले कोशी प्रदेशमा हाल जैविक विविधता संरक्षण, माटो व्यवस्थापन, चुरे क्षेत्रमा वातावरणीय प्रभाव न्यूनीकरण लगायतका क्षेत्रमा विभिन्न परियोजना सञ्चालन गरिरहेको छ। भेटका क्रममा यी परियोजनाहरूलाई थप विस्तार गर्दै नयाँ क्षेत्र पहिचान गर्न दुवै पक्ष सकारात्मक रहेको जनाइएको छ।