कठमाडौं- नेकपा एमालेका सचेतक सुनिता बरालले राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउन माग गर्नुभएको छ।
२०८२ असार ३१ गते मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रमुख सचेतक शाहीले, ‘न्याय नपाए गोरखा जानू, भ्रष्टाचार गर्न नपाए …… आउनू’ भनेर सरकारको आलोचना गर्नुभएको थियो।
सभामुखले बोल्ने समय दिएलगत्तै सांसद शाहीको भनाइमा एमाले सचेतक बरालले नियमापत्ति गर्नुभएको थियो। प्रधानमन्त्रीमाथि शाहीले तथ्यहीन आरोप लगाएको भन्दै संसद्को रेकर्डबाट हटाउन सांसद बरालले माग गर्नुभयो। सरकार र नेतृत्वमाथि बदनाम गर्ने प्रयास भएको भन्दै बरालले आपत्ति जनाउनुभयो।
‘सिंगो नेतृत्वमाथि जुन संगीन आरोप लगाएर समग्र सरकार र सरकार मात्रै होइन। यो देशको नेतृत्वकर्ताका हिसाबले देशकै बदनाम गर्न खोजिएको छ,’ सचेतक बरालले भन्नुभयो, ‘संसद्मा जे पनि बोल्न पाइने र जस्तो पनि आरोप लगाउन पाइने जुन प्रवृत्ति बढिरहेको छ, जुन अभ्यास बढिरहेको छ र अहिले भर्खरै पूर्ववक्ता माननीय (ज्ञानेन्द्र शाही)ले संगीन आरोप सरकारलाई, सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीको नामै उच्चारण लिएर गर्नुभयो। यो विषयमा हाम्रो दलको गम्भीर ध्यानाकर्षण भएको छ। यो विषय रेकर्डबाट हटाइनुपर्छ।’







प्रतिक्रिया