अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यसपटक नयाँ आर्थिक वर्ष सुरु हुनुअघि नै सबै विश्वविद्यालयको बजेट र कार्यक्रम पारित भएको छ: प्रधानमन्त्री ओली

यसपटक नयाँ आर्थिक वर्ष सुरु हुनुअघि नै सबै विश्वविद्यालयको बजेट र कार्यक्रम पारित भएको छ: प्रधानमन्त्री ओली


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आर्थिक वर्ष सुरु हुनुअघि नै देशका सबै विश्वविद्यालयहरूले नयाँ आर्थिक वर्ष सुरु हुनुअघि नै सिनेटले बजेट र कार्यक्रम पारित गरिसकेको जानकारी दिनुभएको छ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले सो कुरा जानकारी गराउनुभएको हो । 

बितेको हप्ता विश्वविद्यालयहरूको सिनेट बैठकहरूमा आफ्नो अधिकांश समय बितेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसपटक विश्वविद्यालयहरूलाई थितिमा ल्याउन गरिएको प्रयास सफल भएको बताउनुभयो।

‘बितेको हप्ता मेरो अधिकांश समय विश्वविद्यालयहरुको सिनेट बैठकमा बित्यो । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘यसपटक विश्वविद्यालयहरुलाई थितिमा चलाउन आर्थिक वर्ष सुरु हुनुअघि नै सिनेटले बजेट पारित गर्ने काम सम्पन्न भयो । विगतमा पहिले खर्च गर्ने, आर्थिक वर्ष सकिन लाग्दा बल्ल खर्च अनुमोदन गर्ने विकृति थियो। तर यसपटक सबै विश्वविद्यालयहरूले आर्थिक वर्ष सुरु हुनुअघि नै बजेट पारित गराएका छन्। यसका लागि धेरै समय दिनु परेको भए पनि सन्तुष्टि मिलेको छ।’

अब सबै विश्वविद्यालयहरूले निर्धारित कार्यक्रम सम्पन्न गर्नेछन् भन्ने विश्वास बढेको प्रधानमन्त्री ओलीले बताउनु भयो।

प्रधानमन्त्री एवम् कुलपति ओलीको अग्रसरतामा नयाँ आर्थिक वर्ष सुरु हुनुअघि नै सबै विश्वविद्यालयले आउँदो आर्थिक वर्षको बजेट र कार्यक्रम पारित गराएका छन् । विश्वविद्यालयहरूको आर्थिक स्वच्छता र देशको संसदीय लोकतान्त्रिक प्रणाली र विद्यमान आर्थिक ऐनसम्बन्धी व्यवस्था अनुकूल हुने गरी सबै विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले सम्भवतः पहिलो पटक यसरी एकै समयमा बजेट पारित गरेका छन्। 

चालू आवको अन्तिम दिन असार ३२ गतेमात्रै नेपाल संस्कृत विश्वविद्यालयको ७८औँ र लुम्बिनी बौद्ध विश्वविद्यालयको १८औँ सभा बैठक सम्पन्न गरेकाे थियाे।

यही असार ३१ गते एकै दिन चार वटा विश्वविद्यालयको सभा बैठक (सिनेट) भएको थियो । त्यस दिन सुदूरपश्चिम विश्वविद्यालयको १३औँ, पूर्वाञ्चल विश्वविद्यालयको ४१औँ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १५औँ र कृषि तथा वन विज्ञान विश्वविद्यालयको १४औँ सभा बैठक सम्पन्न भई बजेट तथा कार्यक्रम पारित भएको थियो ।

यस्तै असार ३० गते मध्यपश्चिम विश्वविद्यालयको १७औँ, राजर्षि जनक विश्वविद्यालयको १०औँ, असार २६ गते त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारण सभा, असार २५ गते पोखरा विश्वविद्यालयको २५औँ सभा बैठक भई बजेट पारित भएको छ ।