अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनताको स्वास्थ्यप्रति काेशी सरकार गम्भीर छ: मुख्यमन्त्री कार्की

जनताको स्वास्थ्यप्रति काेशी सरकार गम्भीर छ: मुख्यमन्त्री कार्की

बिपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तरता पाउने छ


सुनसरी-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी स्वास्थ्य बिमा सेवाले निरन्तरता पाउने बताउनु भएको छ।

आज धरान उपमहानगरपालिका–१९ स्थित हरियाली पार्कमा स्वर्गीय नगर प्रमुख तारा सुब्बाको ७औँ स्मृति दिवसको अवसरमा नेकपा एमाले १९ नं वडा कमिटीले आयोजना गरेको स्मृतिसभा कार्यक्रममा मुख्यमन्त्री कार्कीले यो सेवा तीन महिनाका लागि सुरु गरिएको भए पनि अब बन्द नहुने बताउनुभयो। ‘बिमा सेवाले जनताको अधिकारका रूपमा स्थायित्व पाउनेछ,’ मुख्यमन्त्री कार्कीले भन्नुभयो।

बिपी प्रतिष्ठानलाई जनताको पहिलो स्वास्थ्य सहाराको रूपमा उभ्याउन कोशी प्रदेश सरकार सफल भएको उहाँले उल्लेख गर्नुभयो। जनताको स्वास्थ्यप्रति सरकार गम्भीर रहेको र स्वास्थ्य सेवा अस्थायी हुने कुरा कहिल्यै स्वीकार्य नहुने उहाँको भनाइ छ।

धरानको दीर्घकालीन खानेपानी समस्याका सम्बन्धमा उहाँले सङ्घीय सरकारसँग सहकार्य गरी ‘लेउती सुरुङ मार्ग’ निर्माणको सम्भाव्यता अध्ययन अघि बढाउने बताउनुभयो। धरानलाई स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारीको केन्द्रका रूपमा विकास गर्ने योजना प्रदेश सरकारको रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले बसाइँसराइ रोक्न त्यसअनुसार संरचना निर्माणको खाँचो औँल्याउनुभयो।

मुख्यमन्त्री कार्कीले दिवङ्गत तारा सुब्बाको सम्झनामा धरानको समग्र विकासका लागि संकल्पसहितको सहकार्य आवश्यक रहेको बताउँदै भन्नुभयो, ‘धरान बनाउने अभियान अब टुङ्गोमा पुर्‍याउने समय आएको छ। संकल्प, योजना र कार्यान्वयन सँगसँगै जानुपर्ने आजको आवश्यक्ता हो।’