अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अहिले विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्ने अवस्था छैन: केपी शर्मा ओली

अहिले विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्ने अवस्था छैन: केपी शर्मा ओली


काठमाडौं-प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टीमा फर्कन मिल्छ कि मिल्दैन भनेर पार्टीले निर्णय लिने बताउनुभएको छ।

पत्रकार विजयकुमार पाण्डेलाई दिनुभएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमालेमा फर्किने विषयमा आफूसँग सल्लाह पनि नगरेको बताउनुभयो।

प्रधानमन्त्री ओलीले अन्तर्वार्तामा भन्नुभयो, ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अरुसँग के गर्नुभयो मलाई थाहा छैन, तर मसँ कुनै सरसल्लाह गर्नु भएको छैन। पार्टीमा आधिकारिक ढंगले सरसल्लाह, मौखिक वा लिखित केही गर्नुभएको छैन।’

प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई एमालेमा भित्र्याउने विषयमा पार्टीले निर्णय लिने बताउनुभयो।  प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यसमा पार्टीले बसेर निर्णय गर्नुपर्छ। किनभने उहाँ आफ्नै हिसाबले राष्ट्रपतिमा जानुभएको होइन । हामीले पठाएको हो । उहाँ हाम्रो क्यान्डिडेट हो । राष्ट्रपति हुने भएपछि पार्टी छोड्नुभयो । पार्टी छोडेर जानुपर्छ । छोड्नुभन्दा अगाडि त उपाध्यक्ष नै हो ।’

पत्रकार पाण्डेले प्रधानमन्त्री ओलीलाई पूर्वराष्ट्रपति भण्डारीको विषयमा एमालेले औपचारिक निर्णय गर्छ कि गर्दैन भनेर सोध्नुभएको थियो। पत्रकार पाण्डेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओली भन्नुहुन्छ, ‘निर्णय त गर्नैपर्छ । उहाँले प्रश्न उठाइसकेपछि र म आउँछु भनेपछि उहाँले नैतिक रूपमा आउन हुन्छ कि हुँदैन। गणतन्त्र, समाज, राजनीति, व्यवस्था र उहाँकै जीवनमा के असर पर्छ यी सबै कुरा सोचेर उहाँलाई दिनुपर्छ सुझाव वा उहाँमाथि गरिनुपर्ने निर्णय पार्टीले गर्न त गर्छ नै।’

प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारीको बारेमा सल्लाह गरेर छिट्टै निर्णय गरिने पनि बताउनुभयो। ‘उहाँले आफैंले विचार गर्नुपर्छ जस्तो लाग्छ। खै के बोलिराख्नु भएको छ।’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘उहाँले आउँछु भनेर सार्वजनिक रूपमा बोलेका कुरा हामीले जानकारीमा पाएका छौं, ती के हुन् उहाँसँग हामीले सोध्नुपर्छ। हामी निर्णय लिन धेरै ढिलो त गर्दैनौं।’

प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न नसकिने स्पष्ट पार्नुभएको छ। प्रधानमन्त्री ओलीले भन्नुहुन्छ, ‘अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन। किनभने एक त उहाँ राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले ठानेको र मानेको अवस्था नै छैन। दोस्रो, पार्टी काम छाडेर उहाँ धेरै वर्ष नै बाहिर बस्नुभएको छ, नेतृत्वमा बसेर काम गरेको अनुभव उहाँसित छैन।’