अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विधान महाधिवेशनमा नयाँ प्रतिनिधि नथप्ने सहित एमाले सचिवालयले गर्‍यो यस्ता निर्णय

विधान महाधिवेशनमा नयाँ प्रतिनिधि नथप्ने सहित एमाले सचिवालयले गर्‍यो यस्ता निर्णय


काठमाडौं- नेकपा एमालेमा पदाधिकारीको संख्या १९ बाट १५ जनामा घटाउने भएको छ। यसैगरी चर्चामा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाइएको छ।

गए राती सम्पन्न पार्टी केन्द्रीय सचिवालयको बैठकले सचिवालयको अवधारणा पनि हटाएको छ। जस अनुसार अब एमाले स्थायी कमिटी, पालिटव्यूरो र केन्द्रीय कमिटी मात्र रहनेछन्। पार्टी उपाध्यक्ष गुरु बरालले दिएको जानकारी अनुसार लामो छलफलपछि नेताहरू उल्लेखित विषयमा सहमतिमा पुगेका हुन्। आगामी राष्ट्रिय महाधिवेशन देखि केन्द्रीय निकायका रूपमा तीन वटा कमिटी मात्र सक्रिय हुने गरी विधान महाधिवेशनमा प्रस्ताव गरिने निर्णय भएको बरालले बताउनुभयो। १५ वटा पदाधिकारीका पदमा अध्यक्ष र महासचिव बाहेक अरू पदलाई के कसरी विभाजन गर्ने भन्ने बारेमा निर्णय गरिएको छैन। तर पार्टीका एक पदाधिकारीका अनुसार अध्यक्ष, महासचिव र उपमहासचिव एक एक,उपाध्यक्ष पाँच र सचिव सात जना रहने अनौपचारिक सहमति भएको छ।

उपाध्यक्ष बरालले जनाए अनुसार केन्द्रीय कमिटीको आकार घटाउने विषयमा पनि नेताहरु बीच लामो छलफल भएको थियो। पार्टी उपाध्यक्ष एवं विधान संसोधन समितीका संयोजक विष्णुप्रसाद पौडेलले पौडेलले ११ जना पदाधिकारीको प्रस्ताव गरेको भए पनि नेताहरुले त्यसलाई बढाएर १५ पुर्याउनु पर्ने राय दिएपछि सोही अनुसार निर्णय भएको हो। उपाध्यक्ष पाैडेलले १९९ सदस्यीय केन्द्रीय कमिटी प्रस्ताव गर्नुभएको थियो। तर नेताहरुले त्यसलाई बढाएर २५१ सदस्यीय बनाउन आग्रह गरेपछि सोही अनुसार निर्णय भएको हो। केन्द्रीय कमिटीका एकतिहाई सदस्य पोलिटव्यूरोमा रहनेछन्। जस अनुसार अब एमालेको पोलिटव्यूरो अब ८३ सदस्यीय हुनेछ। हाल एमाले पोलिटव्यूरो ९९ सदस्यीय थियो।

उपमहासचिव एवं प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार १५ सदस्यीय पदाधिकारीलाई नै स्थायी कमिटी मान्ने निर्णय सर्वसम्मत भएको छ । उहाँका अनुसार विधान संसोधनका प्रावधानमा बैठकको सुरुमा नेताहरुले विभिन्न मत राखे पनि सबै निर्णयहरु सर्वसम्मत भएका हुन् । ज्ञवालीका अनुसार पार्टी केन्द्रीय सदस्यहरुलाई महाधिवशेनमा उम्मेद्वार हुने गरी सहभागी हुन आफ्नै भूगोलबाट चुनिएर आउने कि स्वत आयोजकको हैसियतमा सहभागी गराउने विषयमा लामो छलफल भएको थियो । छलफलले केन्द्रीय सदस्यहरु स्वत राष्ट्रिय महाधिवेशनका प्रतिनिधी हुन पाउने गरी निर्णय गरेको छ। विधान महाधिवेशनको हकमा यस अघिका प्रतिनिधी मात्र सहभागी हुन पाउने विधानको व्यवस्थालाई यथावत राखिएको छ। नयाँ थपिएका केन्द्रिय सदस्यहरु आयोजकको हैसियतमा मात्र विधान महाधिवेशनमा सहभागी हुनेछन्।

हिजो सचिवालयले गरेको निर्णय आज दिउसो १ बजे बस्ने पोलिटव्यूरो बैठकबाट अनुमोदन गरिने नेताहरुले जनाएका छन् । ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा सचिवालय र पोलिटव्यूरो बैठकका निर्णयहरु प्रस्ताव गरिने भएको छ।