काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली यही साउन तेस्रो साता मध्य एसियाली मुलुक तुर्कमेनिस्तानको भ्रमण जाँदै हुनुहुन्छ।
भूपरिवेष्ठित विकाशसील राष्ट्रहरूको (एलएलडीसी थ्री) साउन तेस्रो साता तुर्कमेनिस्तानको पर्यटकीय सहर अभाजामा हुने तेस्रो सम्मेलनका लागि जान लाग्नुभएको हो।
प्रधानमन्त्री ओली यसअघि संयुक्त राष्ट्रसंघकै विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन (१५–१९ असार) मा भाग लिन स्पेन जानुभएको थियाे । सम्मेलन स्पेनको सेभिल्लामा भएको थियो।
प्रत्येक १० वर्षमा हुने यो सम्मेलन यसअघि ३–५ नोभेम्बर २०१४ (१७–१९ कात्तिक २०७१) मा अस्ट्रियायाको भियनामा भएको थियो।
पहिलो सम्मेलन भने अर्का मध्य एसियाली मुलुक कजाखस्तानको राजधानी अल्माटीमा सन् २००३ मा आयोजना गरिएको थियो।
‘एलएलडीसी’मा रहेका विश्वका ३२ वटा भूपरिवेष्ठित-विकाशील मुलुक आबद्ध छन्। यसमा एसियाबाट १२, अफ्रिकाबाट १५, युरोप र दक्षिण अमेरिकाबाट २–२ देशमा छन्।
एसियाली मुलुकमा नेपालसहित अफगानिस्तान, आर्मेनिया, अजरबैजान, भुटान, कजाखस्तान, किर्गिस्तान, लाओस, मंगोलिया, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान छन्।
सबैभन्दा धेरै अफ्रिकी मुलुक- बोत्स्वाना, इश्वातिनी, इथियोपिया, लेसोथो, मलावी, माली, नाइजर, रुवाण्डा, दक्षिण सुडान, युगाण्डा, जाम्बिया, जिम्बावे, सेन्ट्रल अफ्रिकल रिपब्लिक, चाड र बुर्किनाफासो छन्।
युरोप र दक्षिण अमेरिकाबाट दुई/दुई देश तथा युरोपका नर्थ म्यासेडोनिया र रिपब्लिक अफ मोल्दोभा (युरोप), दक्षिण अमेरिकाका बोलिभिया र पाराग्वे छन्।
संयुक्त राष्ट्रसंघले ‘एलएलडीसी’ सम्मेलनजस्तै ‘विकासका लागि वित्त’ सम्मेलनपनि प्रत्येक १० वर्षमा आयोजना गर्छ।






प्रतिक्रिया