काठमाडौँ-नेकपा एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ। बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा केही समय अघि सुरु भएको हो। बैठकमा २०८२ साउन १ गते सम्पन्न सचिवालय बैठकले तय गरेका एजेण्डामाथि छलफल हुनेछ।
बिहीबार सम्पन्न सचिवालयको ४९ औँ बैठकले १५ जना पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी गठनको प्रस्ताव पारित गरेको थियो। १५ वटा पदाधिकारीका पदमा अध्यक्ष र महासचिव बाहेक अरू पदलाई के कसरी विभाजन गर्ने भन्ने बारेमा निर्णय गरिएको छैन। तर पार्टीका एक पदाधिकारीका अनुसार अध्यक्ष, महासचिव र उपमहासचिव एक एक, उपाध्यक्ष पाँच र सचिव सात जना रहने अनौपचारिक सहमति भएको छ। बैठकमा पार्टी उपाध्यक्ष एवं विधान संसोधन समितीका संयोजक विष्णुप्रसाद पौडेलले ११ जना पदाधिकारीको प्रस्ताव गरेको भए पनि नेताहरुले त्यसलाई बढाएर १५ पुर्याउनु पर्ने राय दिएपछि सोही अनुसार निर्णय भएको हो। यसैगरी छलफलमा विधानमा व्यवस्था गरेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेस भएको थियो।
सचिवालयको बैठकले सचिवालयको अवधारणा पनि हटाएको छ। जस अनुसार अब एमाले स्थायी कमिटी, पालिटव्यूरो र केन्द्रीय कमिटी मात्र रहनेछन्। आगामी राष्ट्रिय महाधिवेशन देखि केन्द्रीय निकायका रूपमा तीन वटा कमिटी मात्र सक्रिय हुने गरी विधान महाधिवेशनमा प्रस्ताव गरिने निर्णय गरेकाे छ।
पोलिटब्युरो बैठकमा विधान संशोधन तथा संगठनात्मक प्रस्तावहरूबारे छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयाे।
एमालेको नयाँ कार्यकाल, विधान संशोधन, पदाधिकारी, पोलिटब्युरो विस्तार लगायतका विषयमा छलफल गर्न बोलाइएको बैठकमा नेतृत्वले आगामी महाधिवेशन र सांगठनिक रणनीति पनि प्रस्तुत गर्ने तयारी गरेको छ। पोलिटब्युरो बैठक सकिएपछि पार्टी केन्द्रीय कमिटी बैठक बस्ने छ। केन्द्री कमिटी बैठकले पनि ती विषय पास गरेपछि विधान अधिवेशनमा छलफलका लागि ती एजेण्डाले प्रवेश पाउने छन्।












प्रतिक्रिया