काठमाडौं-नेकपा एमालेको पोलिटब्युरो बैठकमा पार्टी उपाध्यक्ष एवं विधान संशाेधन समितिका संयोजक विष्णु पौडेलले तयार पारेको विधान संशोधन प्रस्ताव प्रस्तुत भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा उपाध्यक्ष पौडेलले विधानमा गर्नुपर्ने हेरफेर सम्बन्धी प्रस्ताव पेस गर्नुभएकाे हाे।
महासचिव शंकर पोखरेलले संगठनसम्बन्धी प्रतिवेदन पेस गर्नुभएकाे छ। त्यसपछि राजनीतिक प्रतिवेदन पेस हुनेछ। त्यसपछि तीनवटै प्रतिवेदनमा छलफल हुने बताइएको छ।
एमालेमा पदाधिकारीसहित ९२ जना पोलिट्ब्युरो सदस्य छन्। एक जनालाई ५ मिनेटका दरले सुझाव दिन समय दिइएको छ।अब एमालेमा वरिष्ठ उपाध्यक्ष पद नरहने भएको छ। तर पहिलो वरीयताको उपाध्यक्ष भने रहनेछन्।
बिहीबार सम्पन्न सचिवालयको ४९ औँ बैठकमा भएको सहमतिअनुसार विधान संशोधन प्रस्ताव पोलिट्ब्युरोमा पेस गरिएको हो।सचिवालय बैठकले पदाधिकारीको संख्या १९ बाट घटाएर १५ जना राख्ने निर्णय गरेको थियो भने चर्चामा रहेको ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था पनि हटाएको छ।
सचिवालय बैठकले सचिवालयको अवधारणा पनि हटाएको छ। जसअनुसार अब एमालेमा तीन तहका संरचना; स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी मात्र रहनेछन्।








प्रतिक्रिया