काठमाडौं-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्कनु गम्भीर विषय भएको बताउनुभएकाे छ।
ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आज बसेकाे पार्टीको पोलिटव्युरो बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रधानमन्त्री तथा एमालेअध्यक्षले देशको राष्ट्रपति भइसकेको व्यक्ति व्यक्ति राजनीतिमा आउने कुरा गम्भीर भएकाले उचित समयमा निर्णय लिने बैठकलाई जानकारी गराएको बताउनुभयाे।
प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै गौतमले भन्नुभयाे, ‘राष्ट्रपतिजस्तो गरिमामय पदमा पुगिसकेको व्यक्तिले परमाधिपति भइसकेको, देशको सर्वोच्च पदमा पुगेको, देशको गणतन्त्रको गौरवको रूपमा रहेको व्यक्ति राजनीतिमा आएर प्रवेश गर्ने एउटा गम्भीर विषय हो। यसलाई पार्टीले उचित समयमा निष्कर्ष निकालेर निर्णय लिन्छ।’
प्रधानमन्त्री ओलीले विधान निर्माण गर्ने काममा पार्टीको नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री ओलीले अहिलेको विकसित राजनीतिक घटनाक्रम, सरकार र विधानका बारेमा बोल्नु अहिले पार्टीको मुख्य काम विधान महाधिवेशन र विधि निर्माण काम भएकोले नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिनुभएकाे हाे।
अध्यक्ष ओलीले पार्टीमा कसैलाई बोल्न कुनै बन्देज नलगाइएको बताउनुभयाे। सचिवालयमा व्यापक छलफल गरेर आज पोलिटब्युरो बैठकमा पनि आफूलाई लागेको सबै कुरा राख्न दिइएको उहाँले बताउनुभयाे।
बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्तावमाथि आज सात जना नेताले आआफ्नो धारणा राख्नुभएको छ।
लालबाबु पण्डित, डा. राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरुङ्, शेरधन राई, खगराज अधिकारी र कर्णवहादुर थापाले बोल्नु भएको थियो। भोलि अन्य पोलिटव्युरो सदस्य बोल्ने तयारी रहेको छ।
विधान संशोधन प्रस्तावमा पार्टीको विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० बर्ष उमेर हद र दुई कार्याकाल व्यवस्था हटाउने राखिएको छ।
यस्तै विधान संशोधन प्रस्तावमा पदाधिकारी सङ्ख्या १५ जना सहित केन्द्रीय कमिटीको सङ्ख्या २५१ रहने राखिएको छ। यस्तै विधान संशोधन प्रस्तावमा स्थायी कमिटी, पोलिटब्युरो कमिटी र केन्द्रीय कमिटी गरि तीन तह रहने व्यवस्था गरिएको छ।
यस्तै विधान संशोधन प्रस्तावमा पार्टीको पदाधिकारी सङ्ख्यालाई स्थायी कमिटी मान्ने निर्णय गरिएको छ। यसअघि पदाधिकारीलाई सचिवालय सदस्यको रुपमा मानिएको थियो।
पार्टीमा सदस्य र सङ्गठित सदस्य गरी दुई खालका सदस्य हुने प्रस्ताव गरिएको छ। जनसङ्गठनमा आवद्ध रहेका सदस्यलाई खारिँदै आएपछि पार्टीले प्रशिक्षित गरेर मात्र सङ्गठित सदस्य दिने भन्ने प्रस्ताव छ। बैठक भोलि विहान ११ बजे बस्ने गरी सकिएको छ।







प्रतिक्रिया