काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरणका विषयमा पार्टीले छलफल गरेर निर्णय गर्ने बताउनुभएको छ।
पार्टीको पोलिटब्युरो बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले भण्डारी सक्रिय राजनीतिमा फर्कनु हुन्न भन्ने विश्वासका साथ उहाँलाई दुई पटक राष्ट्रपति बनाइएको बताउनुभयो। बैठकमा सहभागी एक सदस्यले दिएको जानकारी अनुसार, भण्डारीको सदस्यता हालसम्म नवीकरण नगरेको अध्यक्ष ओलीले बताउनु भएको छ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी भित्रको अराजकता रोक्नुपर्ने बताउनुभयो। ‘पार्टीलाई ठुलो र सङ्गठित हमला छ’ ती सदस्यले भन्नुभयो, ‘यही बेला पार्टी भित्रबाट पनि बबन्डर उठाउने कोसिस हुनु गलत हो। यो कुरा तत्काल रोकिनुपर्दछ। नरोकिए पार्टीले रोक्छ।’
प्रधानमन्त्री ओलीले राष्ट्रपति सक्रिय राजनीतिमा आउने कुरा आफूले पत्रपत्रिका र अनलाइनबाट थाहा पाएको बताउनुभयो। दुई पटक उहाँलाई पार्टीले पठाएको हो। अहिले संवैधानिक व्यवस्था अनुसार फर्किनुहुन्न भनेर जिम्मेवारी दिएको हो। अध्यक्ष ओलीले बैठकमा भन्नुभएको कुरा सुनाउँदै ती सदस्यले भने।
सक्रिय राजनीतिमा आउने कुरा र उचालेका आधारमा अध्यक्ष हुने कुरा फरक रहेको उहाँले बताउनुभयो। पार्टीका विधानका बारेमा नाना थरी धारणा राख्दै हिँड्नेलाई उहाँले पार्टी पद्धति र प्रक्रियाका विषयमा पार्टी भित्र छलफल हुने र पार्टीमाथि आक्रमण भएका बेला बाहिर गएर बोल्ने कुरा उचित नभएको बताउनुभयो।











प्रतिक्रिया