नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तासँग फेरि एक पटक साथ माग्नु भएको छ। नेता ओलीले यस अघि चितवन महाधिवेशनको उद्घाटन समारोहमा मलाई नेकपा एमालेको अध्यक्ष भएकोमा गर्व लागेको छ किन भने, ‘मैले तपाईंजस्ता पार्टी सदस्यहरुको साथ पाएको छु’ भन्नु भएको थियो। पार्टी अध्यक्ष ओलीको त्यो भनाईले धेरै कार्यकर्ताहरुको छाती ढक्क भएको थियो। त्योबेला ओलीले मञ्चमा बस्ने नेताहरुलाई देखाएर भन्नु भएको थिएन बरु रातभर गाडीमा हिडेर विहान चितवनको कार्यक्रम स्थलभन्दा ५ किलोमिटर पर ओर्लिएर हिड्दै नारायणी नदीको बगरमा भोकै पुगेका कार्यकर्तालाई देखाएर सो धारणा राख्नु भएको थियो। अध्यक्ष ओलीले यसपटक पनि झापाको जिल्ला स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टीभित्रको एकतालाई मजबुत बनाएर संकल्पका साथ लाग्नु पर्छ, भन्नुहुँदै एमालेलाई अरुले हराउन नसक्ने पार्टी बनाउन कार्यकर्तालाई आग्रह गर्नु भएको थियो। पार्टी अध्यक्ष ओलीले फेरि पनि कार्यकर्ताहरुलाई गम्भीर भएर सम्वोधन गर्नुहुँदै भन्नुभयो, ‘नेकपा एमाले नेताहरुले बचाएको पार्टी होइन कार्यकर्ताहरुले बचाएको पार्टी हो। जब-जब पार्टीभित्र संकट आउँछ तब-तब कार्यकर्ताहरुले खवरदारी गर्दै उभिएको पाउँछु।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आम कार्यकर्ताहरुले कसरी बुझ्दछन भने, ‘मैले भनेको केपी कमरेडले काट्नु हुन्न, टार्नु हुन्न।’ धेरै कार्यकर्ताहरुले भन्ने पनि गरेका छन्, ‘मैले सोचेकै कुरा अध्यक्षले गर्नुभयो।’ नेताप्रतिको यो विश्वास र भरोसा पार्टीको सम्पत्ति हो। नेकपा एमालेको इतिहासमा केपी शर्मा ओलीको भूमिकालाई कसैले निश्तेज पार्न खोज्यो वा हटाउन खोज्योभने त्यो अपुरो हुने छ। त्यसो त ओली मात्रै होइन सबै कार्यकर्ताको भूमिका महत्वपूर्ण नै छ। नेताहरुले कार्यकर्ताको भावना बुझ्न जरुरी छ। तर, माथि माथि नै केही नेतृत्वको घेरामा रहेर आम कार्यकर्ताहरुको भावना बुझ्न सकिन्न। पार्टी अध्यक्ष पनि घेराबन्दीमा हुनुहुन्छ बालुवाटारदेखि जिल्ला भ्रमण आउँदासम्म कार्यकर्ताले एक दुई मिनेट कुरा गर्न नपाएको अहिले कार्यकर्ताको गुनासो रहेको छ। नेतालाई कार्यकर्ताबाट टाढा बनाउँदै जाने होभने माया, प्रेम, सदभाव हराउँदै नकारात्मक सोच पैदा हुन्छ। नकारात्मक घटाउँदै समारात्मक बढाउँदै जानु पर्छ।
एमाले नेतृत्व परिवर्तन रहर कि बाध्यता ?
अहिले एकाएक नेकपा एमालेको अध्यक्षको दावेदार भनेर विद्या भण्डारीको नाम अगाडि आएको छ। उहाँको नाम महाधिवेशनसम्म पर्खिन नसक्ने गरी विधान अधिवेशन मै अध्यक्ष बनाउनु पर्ने गरी किन प्रस्तुत गरिदैछ ? पूर्व सम्माननीय राष्ट्रपति भण्डारी स्वंयम्ले आफू कहाँ उठ्ने भन्नु भएको छैन। उहाँले पार्टीमा बसेर काम गर्ने ठाउँ खोज्नु भएको छ। विद्या भण्डारीलाई कित्ताकाट गर्नेहरुले पुष्ट्याई गर्न जरुरी छ। नेकपा एमालेले विद्या भण्डारीलाई दुई दुई कार्यकाल राष्ट्रपति बनाएको थियो। प्रायः राष्ट्रपति भन्ने वित्तिकै जनताको अभिभावक भन्ने बुझिन्छ। अहिले उहाँले पार्टी मै फर्किने कुरा ल्याउनु हुँदैनथ्यो। समाज सेवाको थुप्रै क्षेत्रहरु अवसरको रुपमा रहेको छ। उहाँले पछाडि नै बसेर नेकपा एमाले भित्रको अन्तर-कुन्तर (समस्याहरु)लाई समाधान गर्दै अभिभावकको रुपमा बसेर पार्टी नेतृत्वलाई मजबुत बनाएर पार्टीको दीर्घकालिन अभियानलाई दर्विलो बनाउदा एमालेभित्र एउटा आशा र भरोसाको केन्द्र बन्ने थियो। कित्ताकाट गर्नेहरु प्रायः सबैले भण्डारीको नाममा नयाँ अवसरको खोजीमा हुनुहुन्छ।

राष्ट्रपतिबाट विदा हुँदै गर्दा विद्या भण्डारीले प्रष्टै शब्दमा आफू राजनीतिमा नआउने भन्नु भएको थियो। त्यसपछि नेतृत्वको सहमतीमा आउने भन्नुभयो। अहिले नेतृत्व मै आउने भन्ने कुरा विद्या भण्डारीलाई कित्ताकाट गर्नेहरुले उछालिरहेका छन्। अहिलेसम्म भण्डारीले अवसर पाउनु भएको छैन् पार्टीले खटाएको र अह्राएको ठाउँमा मात्रै काम गर्नु भएका पनि भन्न भ्याएका छन्, उहाँलाई कित्ताकाट गर्नेहरुले। आखिर यस्तो कुरा किन आयो ? त्यसको खोजी गर्न जरुरी छ। अहिले नै भण्डारीको नेतृत्व किन ? अहिले नै ओलीको अध्यक्षको पदच्यूत किन ? त्यसको जवाफ कार्यकर्तालाई चाहिएको छ। नेपाली राजनीतिमा लामो संघर्षशील इतिहास बोक्नु भएको भण्डारीलाई अहिले नै अध्यक्ष बनाउने इच्छा कसैले राखेको हो वा आफैले पनि इच्छा राख्नु भएको होभने खेल त कच्चा नै भयो। अहिले उहाँ राजनीतिमा आउनु नै पर्ने भए नेतृत्वसँगको सहकार्यमा कुनै जिम्मेवारी लिएर महाधिवेशनसम्म मौनता साँधेको भए कार्यकर्ताले सहजै बुझ्ने थिए कि अबको अध्यक्ष भण्डारी भनेर। भण्डारीको पार्टी सदस्यता नविकरण र पार्टी गतिविधिमा दवावमुलक प्रस्तुति हेर्दा २०७४/०७८को नेकपाको जस्तो देखिएको छ। विधान अधिवेशनमै अध्यक्ष फेर्ने जस्तो गरीको खेल अस्वस्थ्य र उत्ताउलो देखियो। होइन, जसरी पनि ओलीलाई अध्यक्षबाट हटाउनु पर्ने भए त्यसको असर र कारणका बारेमा मसिनो गरी विश्लेषण गर्न जरुरी छ। तलका कार्यकर्ताहरु अहिले नै खुइय गर्न थालेका छन्। आउँदो ०८४मा अलि वातावरण बन्दै गएको थियो। अब त्यो पनि खस्किने भो भन्न थालेका छन्। रहरले पनि समय खोज्छ बाध्यताले पनि समय खोज्छ, त्यसकारण समयसम्म पर्खिन नसक्ने नेता माधवकुमार नेपाल, पुष्पकमल दाहाल, बामदेव गौतम जस्ता हुन्छन् । जसले समयभन्दा पहिला नै अवसर खोजे। अन्तत समयले उनीहरुलाई मुल भंगालोबाट किनारामा धकेलिदियो । उहाँहरुले एक कार्यकाल नपर्खेर नेकपालाई नै तहस नहस बनाउन लागे जस्तै अहिले देखिएको छ। त्यसैेले अहिलेका अहिले अवसर खोज्नु भन्दा पहिला समय भयो कि छैन भनेर थाहा पाउनु पर्दछ।

नेकपा एमालेभित्र अहिलेसम्म अवसर पाएकाहरुबाटै घात हुने गरेका छन्। त्यो केन्द्रदेखि पालिकासम्मै देखिन्छ। अहिले घात गर्नेहरुको दवदवा बढेको कारण पनि मुख खोलिहालेका छैनन्। पार्टीको वा संसदीय मोर्चाको हरेक अवसरलाई क्यास गर्ने अर्थात दुई तीन पटक सांसद बनेकाहरु अन्यायमा परेका हुन्छन् किनभने उनीहरुले मन्त्री बन्न पाएनन्। नगरपालिकाका वडा अध्यक्ष, उपमेयर, मेयर बनेकाहरुलाई अन्याय भएको छ। उनीहरुले संसद बन्ने अवसर नै पाएका छैनन्। हो, यस्तै अवसरहरु खोजिरहेकाको मात्रै कुरा चल्ने गर्दछ पार्टीमा। एक पटक पनि संसदीय निर्वाचनमा अवसर नपाएकाहरुका लागि अन्याय हुँदैन किनभने उसले गर्न सक्दैन भनिन्छ। अर्को डरलाग्दो कुरा के छभने संसदीय क्षेत्रमा भाँडभैलो ग¥यो, हुने नहुने काम ग¥यो, अर्को निर्वाचनमा अलि ठूलो पदमा टिकट माग्यो, नपाए अन्तरघात गरेर पनि हरायो। कार्वाहीको माग गर्ने कमिटी विरुद्ध ठूलो घेराबन्दी ग¥यो कार्वाही निश्तेज गरायो। अनिफेरि उसैलाई ठूलो ठाउँमा नियुक्ति वा टिकट दिलायो। हो, यस्ता अवसरका भोकाहरुले सकेसम्म नेताको चाकरी गर्छन् पदहरु हत्याई रहन्छन्। नसके ती नेतालाई हटाएर अर्कोलाई स्थापित गराउन खोज्छन्। यस्ता नेता तथा कार्यकर्ता ऐन मौकामा पार्टीको पनि हुन सक्दैनन् । तर, पार्टी भने संधै उनका लागि हुनु पर्दछ। हो, यस्ता प्रबृत्ति हट्नु पर्छ, हटाउनु पर्दछ।
नेकपा एमालेभित्र अहिले नै नेतृत्व परिवर्तन गर्नु पर्ने कारण के हो ? महाधिवेशनसम्म नथामिने गरी अहिले नै भण्डारीलाई किन अध्यक्ष बनाउने ? किन अहिले नै ओलीले अध्यक्ष छोड्नु पर्ने ? यस्ता कुरा उठाएर कार्यकर्तामा कित्ताकाट गर्ने काम बन्द हुन जरुरी छ। अर्कोतिर पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि अध्यक्ष तत्कालै फेर्ने गरिको हल्ला किन आयो ? अध्यक्ष आफैले समीक्षा गर्नु पर्ने हुन्छ। पार्टी अध्यक्षसँग आफ्नो कुरा सुनवायी नभएपछि कार्यकर्ताहरुले निरन्तर विकल्प खोज्दै जाने गरेको ठाउँ हो भण्डारी निवास। अध्यक्ष निकट आफै केपी ओली ठान्ने नेताहरुको दवदवाबाट विरक्तिएकाहरु मन विसाउने ठाउँ बनेको छ भण्डारी निवास । भण्डारी निवासको साथ नपाएको भए सायद कोही कोही नेताहरु एमालेको जुइनो फुस्किएर बनेको माधव नेपालको पार्टीमा पुग्थे होला। एमालेका केही नेताहरु अहिले पनि कमरेड यसो गर्न पाए हुन्थ्यो भन्दा नेतृत्वमा रहेकोले भन्ने शब्द ‘अझै केही वर्ष केपी कमरेड नेतृत्वमा हो, कमरेड हामी गरिहाल्छौं नबोल्दै राम्रो हुन्छ’ हो, यस्तो भनाईले कसलाई फाइदा पुर्याउँछ ? आफ्नो प्रभूत्व विस्तार गर्ने नाममा हिजो पार्टीमा अन्तरघात गरी कार्वाहीमा पर्नेहरुलाई बोलाउँदै राजनीतिक नियुक्ति पठाइएको कार्यकर्ताले टुलुटुलु हेरिरहेका छन्। त्यो पनि पार्टी अध्यक्षको निर्देशन भन्दै। पार्टी अध्यक्षको सचिवालयले निर्मम ढंगले समीक्षा गर्न जरुरी छ।
नीति मदनको नेतृत्व विद्याको
जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवादको व्यख्या गर्दै भन्नु भएको थियो। हामी संसदीय अभ्यासबाटै सत्तामा पुगेर समाजवादको आधार तयार गर्दै निरन्तर यात्रामा अघि बढ्ने हो। तर, त्यो ठाउँ दुर्गन्धित छ, त्यो दुर्गन्ध हामीले सफा गर्ने हो भन्नु भएको थियो। जननेता मदन भण्डारीले सत्तामा पुग्नु अगावै राख्नु भएको कुरा एमालेमा राम्रै गरी देखिएको छ। उहाँको यो भनाई व्यवहारमा मात्रै होइन नीतिमा पनि हामी समाजवादीबाट व्यक्तिवादीमा पुग्यौं। त्यही भएर अहिले नीति मदनको नेतृत्व विद्याको भन्ने नारा अघि आएको छ। यो भनाईले नेकपा एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादलाई पार्टीबाट झिकेर व्यक्तिमा पुर्याएको देखिन्छ। राजा महेन्द्रको विरासत थाम्दै उहाँको पदचापलाई निरन्तरता दिन राजा ज्ञानेन्द आएको जस्ता परिवारवादका कुरा राजा महाराजा जस्ता सामन्त वर्गमा हुने गर्छ। ठ्याक्कै त्यस्तै शैलीबाट नीति मदनको नेतृत्व विद्याको भन्नेकुरा आयो । कित्ताकाट गर्ने महोदयहरु कुन बाटोमा आफूलाई उभ्याउँदै हुनुहुन्छ ? नेकपा एमाले भित्र परिवारवाद नचलाए राम्रो हुन्छ । पार्टी कामको विश्लेषणको आधारमा नेतृत्व हस्तान्तरण गर्न जरुरी छ। यहाँ राख्न खोजेको धेरै विषय अहिले एमालेको आन्तरिक एजेण्डा बनेको छ। अहिलेसम्म मैले अवसर पाएको छैन भन्नेहरु नै अवसरमा रमाएको देखिन्छ र तिनीहरु नै नेतृत्वमा रहिरहन बेला बेलामा यस्ता फण्डाहरु ल्याउने गर्दछन्। यस्तै फण्डाहरु मध्ये कै एक फण्डा हो नीति मदनको नेतृत्व विद्याको। अहिले माओवादीका जिल्लाका नेताहरु पनि भन्न थालेका छन् तपाईहरु विद्या कमरेडलाई अघि सारेको अर्को छलाङ मार्न खोज्दै हुनुहुन्छ। किन हुन्छ यस्ता खेल ? हेरौं खोजौं र महसूस गरौं। जे होस् नेकपा एमाले अरुको वहकावमा लाग्दैन। लाग्न दिदैन। एमालेभित्र पसेर चलखेल गर्न खोज्नेहरुलाई छोड्दैन पनि किनभने नेकपा एमालेको नेतृत्व यस्ता कुरामा राम्ररी जानकारी राख्दछ।
बजारिया हल्ला पछि ओलीको निर्देशन
नेकपा एमालेमा आगामी कार्यकालको नेतृत्वमा संकट पैदा नहोस् भनेर भण्डारीको नाम अध्यक्ष ओलीले नै ल्याएको भन्नेहरु पनि छन् । ओली पछि विष्णु र शंकरको पालो आउने भो भनेर उहाँलाई फुच्चे ठान्ने हरुबाट पनि जबरजस्त भण्डारीको नाम ल्याइएको भन्ने अहिले बजारमा अर्को हल्ला आएको छ । सबैखाले लफडा अन्त्य गर्न पनि भण्डारीलाई अध्यक्षले नै अघि सारेको भन्ने अर्को तर्क पनि बजारमा छ । त्यस्तैगरी, केही समयअघि पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई माओवादी पार्टीको उपाध्यक्ष बनाएकै दिन अब हामीले विद्या कमरेडलाई पनि एमालेमा बाटो खोलिदियौं भनेर प्रचण्डले भन्नुभए पछिको कुरा पनि अहिले बजारमा आएको छ । कसै कसैले एमाले बचाउन विद्या भण्डारीलाई ल्याइएको हो पनि भनन थालेका छन्। सायद यस्तै टिप्पणीहरु बजारमा आउन थाले पछि एमाले अध्यक्ष ओलीले कार्यकर्ताको नाममा सम्वोधन गर्नुहुँदै “एमाले विनाको देश र केपी ओली विनाको एमाले होस् भन्ने कामना गर्नेहरूको कामना पुरा हुँदैन। भन्नु भएको छ। एमाले अध्यक्ष ओलीले प्रष्ट भाषामा केपी ओली विनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरुको खेल भएको टिप्पणी गर्दै उहाँले पार्टीभित्र र बाहिरबाट भइहेको षड्यन्त्र चिर्दै ढुक्कका साथ पार्टीको सही नीति र नेतृत्वको पक्षमा लाग्न आग्रह गर्नुभयो । एमाले अध्यक्षको यो भनाईले कार्यकर्तालाई द्विविधाबाट मुक्त गराएको छ। अस्तु ।।






प्रतिक्रिया