काठमाडौँ-नेकपा एमालेकाे नवौँ केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक जारी छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा हिजोबाट सुरु भएको बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ।
२०८२ साउन ६ गते बैठकमा ४९ जना केन्द्रीय सदस्यमध्ये प्रस्तावित विधान मस्यौदाका नयाँ व्यवस्थाबारे धारणा राखेका थिए।
पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि धारणा राख्ने कार्यक्रम छ।
हिजो गण्डकी, मधेस, प्रदेश विशेष र सम्पर्क समन्वय समितिबाट प्रतिनिधित्व गर्ने ४९ जना केन्द्रीय सदस्यले धारणा राखिसक्नु भएको छ । गौतमका अनुसार हरेक केन्द्रीय सदस्यलाई धारणा राख्न अधिकतम तीन मिनेटको समय दिइएको छ । बैठकमा सचिवालय र पोलिटब्युरो सदस्यबाहेकका सदस्यहरूलाई मात्र बोल्ने अवसर दिइएको छ।

आजको बैठकपछि समसामयिक प्रस्तावहरू समेत समेटिएको घोषणापत्र सार्वजनिक गर्ने तयारी पार्टीले गरेको छ।
पार्टीको विधान संशोधन, संगठन सुदृढीकरण र समसामयिक राजनीतिक सन्दर्भबारे स्पष्ट कार्यदिशा तय गर्ने उद्देश्यले एमालेले केन्द्रीय समिति बैठक बसेको हो । केन्द्रीय सदस्यहरूको धारणा र सुझावलाई समेट्दै पार्टीले आगामी रणनीति तय गर्ने तयारी गरेको छ ।







प्रतिक्रिया