अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तत्काल मन्त्रिपरिषद् हेरफेर हुँदैन: मन्त्री पाण्डे

तत्काल मन्त्रिपरिषद् हेरफेर हुँदैन: मन्त्री पाण्डे


चितवन-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले तत्काल मन्त्रिपरिषद् हेरफेरको कुरा नभएको बताउनु भएको छ। आज पत्रकारहरुसँग कुरा गर्दै उहाँले अहिले मन्त्री हेरफेरको कुरा नभई कामलाई प्रभावकारी रुपमा अघि बढाउने कुरा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मन्त्री हेरफेरको कुरा हल्ला हो, सत्ता साझेदार दलहरुमा यस विषयमा कुरा भएको छैन।’ अहिले बाहिर हल्ला सुनेको भन्दै उहाँले कांग्रेस सभापति र प्रधानमन्त्रीबाट त्यस्तो कुरा नआएको बताउनुभयो।

सरकार एक वर्ष अझै जाने बताउँदै उहाँले सत्ता गठबन्धन विसं २०८४ सम्म रहने बताउनुभयो । बाहिरी हल्लाको कुनै सत्यता नरहेको उहाँको भनाइ थियो। उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले तीव्रताका साथ काम गर्न निर्देशन दिनुभएको भएको छ।’

फरक प्रसङ्गमा बोल्दै उहाँले भरतपुर विमानस्थल विस्तारमा केही जटिलता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरोकारवाला पक्ष, सेना लगायतसँग हामीले छलफल गरिरहेका छौँ, यस पटक नागरिक उड्डयन प्राधिकरणको बजेटमा समावेश गरेर विस्तारको काम अघि बढ्छ।’

कोरोनापछि नेपाल आउने पर्यटक घटेकामा पछिल्ला दिनमा यो सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो।

–––