अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटीमा कोशीका केन्द्रीय सदस्यहरूका थरी थरी सुझाव

एमाले केन्द्रीय कमिटीमा कोशीका केन्द्रीय सदस्यहरूका थरी थरी सुझाव


काठमाडौँ-नेकपा एमालेको जारी नवौं बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ। आजको बैठकमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने १९ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका छन्।

बैठकमा सहभागी एक नेताका अनुसार केन्द्रीय सदस्यहरू किशोर अधिकारी, जीवन घिमिरे, राजेन्द्र राई, आशारत्न जवेगु दीपक कार्की, रामलाल साह, युवराज बास्कोटाले आफ्ना भनाइहरू राख्नुभएको छ।

यसै गरी इन्द्र भण्डारी, नैनकला ओझा, यज्ञराज सुनुवार, तुलसी नेउपाने, भगवती चौधरी,मञ्जु भण्डारी, राम राना, टंक आङ्बोहाङ र प्रदेश अध्यक्ष घनश्याम खतिवडाले आफ्ना धारणा राख्नुभएको छ।

बैठकमा केन्द्रीय सदस्य युवराज बाँस्कोटाले भूगोलको जिम्मेवारी लिएका कतिपय केन्द्रीय सदस्य लामो समय काठमाडौंमा बिताउने गरेको स्थानीय तहमा जनसम्पर्क कमजोर भएको बताउनुभएको छ। उहाँले पार्टीलाई पठाएका जनप्रतिनिधि निजामतीका हाकिम जस्तो चरित्र बोक्न थालेकोले तिनीहरूको आचरण सुधारमा पार्टीले ठोस नीति लिन माग गर्नुभएको छ। बास्कोटाले एमालेलाई राष्ट्रिय शक्ति बनाउने उद्घोष गरे पनि एकले अर्कोलाई निषेधको संस्कार पार्टीमा मौलाउँदै गएकोले मिसन ०८४ मा समस्या ल्याउने तर्फ नेतृत्वले बेलैमा सचेत हुनुपर्ने उल्लेख गर्नुभयो।

अर्का केन्द्रीय सदस्य जीवन घिमिरेले राष्ट्रप्रमुख भइसकेको व्यक्ति राजनीतितिर फर्कनु गल्ती हुने बताउनुभयो । उहाँले सम्माननीयले सम्मानित पोजिसन नै लिएर बस्नु उचित हुने सुझाव दिनुभएको छ। केन्द्रीय सदस्य मञ्जु भण्डारीले हिजोका दिनमा अध्यक्ष कमरेड र पूर्व राष्ट्रपति एक अर्काको सहयोगी भएरै राजनीति सफल पार्नु भएकोले आज पनि आपसी समझदारीमै विवादलाई टुङ्ग्याउनु पर्ने धारणा राख्नु भएको छ।

अहिले बागमती प्रदेशका केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी छ। हिजो देखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा मधेस,गण्डकी र सम्पर्क समन्वयका केन्द्रीय सदस्यहरूले हिजै धारणा राखिसकेका छन्। बैठकमा मुख्यतः पार्टी सचिवालय र पोलिटब्युरोले पारित गरेको विधानका विषयमा छलफल भइरहेको छ। केन्द्रीय कमिटीले दिएका सुझावका आधारमा विधान संशोधन गरेर मातहतका कमिटीमा थप सुझावका लागि पठाउने तयारी छ।