अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्या भण्डारीका बारेमा आज महत्त्वपूर्ण निर्णय लिने सम्भावना छ: राजेन्द्र गौतम

विद्या भण्डारीका बारेमा आज महत्त्वपूर्ण निर्णय लिने सम्भावना छ: राजेन्द्र गौतम


काठमाडौं-नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठक आज पनि जारी छ। दोस्रो दिनको बैठकमा ५८ जनाले आफ्नो धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।

पहिलो दिने ४९ जनाले आफ्नो धारणा राखेका थिए। अब ७७ जनाले आफ्नो धारणा राखेपछि आजै बैठक सम्पन्न हुने पनि गौतमले जानकारी दिनुभयो। आजको बैठकमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीति फर्किने विषय, पार्टी सदस्यता र संगठित सदस्यताको व्यवस्था गर्नेलगायतका विषयमा धारणा राखेको पनि गौतमले जानकारी दिनुभयो।

‘मातहतका कमिटीहरु मुख्य गरेर निर्वाचन क्षेत्रीय समन्वय कमिटी र प्रदेश निर्वाचन क्षेत्रीय कमिटी समन्वय कमिटीहरुलाई संविधान अनुकुल कार्यकारी कमिटी बनाउनुपर्छ भन्ने कुरालाई जोडका साथ उठाइएको छ,’ उहाँले भन्नुभयो, ‘सबैतिरको रिपोर्टिङ अनुसार पार्टीको १ लाख ३९ हजार सदस्यता बृद्धि भएको छ। यो प्रतिशतका हिसावले करीब २८ प्रतिशत हो।’

उहाँले बैठकमा सरकारको प्रभावकारिता, मूल्यबृद्धिलगायतका विषयमा पनि केन्द्रीय सदस्यहरुले कुरा उठाएको जानकारी दिनुभयो।


पूर्व राष्ट्रपतिको पार्टी सदस्यता नविकरण र पार्टीमा प्रवेश गर्ने कुरालाई अधिकांश केन्द्रीय सदस्यले उठाएको पनि जानकारी दिनुभयो। ‘नेपालको संविधानको भाग-६ र धारा-६१ मा राष्ट्रपतिको व्यवस्था गरिएको छ। धारा-६१ को २ मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने छ भन्ने कुरा सुनिश्चित गरिएको छ । ६१ को ३ मा राष्ट्रिय एकताको प्रतीक हुने छ भनिएको छ। धारा-६१ को ४ मा संविधानको पालक र संरक्षक हुने व्यवस्था गरिएको छ,’ उहाँले भन्नुभयो, ‘यस हिसावले राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर संविधानमा उल्लेख छ। यसका अतिरिक्त संविधानको भाग-२८ धारा २६७ को २ मा राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुनेछ भनिएको विषयलाई आधार मान्दै अधिकांश केन्द्रीय सदस्यले राष्ट्राध्यक्ष भैसकेको व्यक्ति कुनै दलमा आउने कि नआउने भन्ने विषय प्राविधिक विषय होइन र यो पार्टी विशेषको विषय पनि होइन। यो महत्वपूर्ण राजनीतिक विषय हो। यसले भोलि जनतामा, प्रणालीमा, व्यवस्थामा के प्रभाव पार्छ यो सबै संविधानको भावनामा कस्तो नजिर र अभ्यास हुन्छ भन्ने विषयमा पार्टीले स्पष्ट एउटा स्पष्ट राजनीतिक निर्णय गर्नुपर्छ भन्ने मत अधिकांश केन्द्रीय सदस्यको मत छ।’

उहाँले आजको केन्द्रीय कमिटी बैठकबाट यो विषयमा महत्वपूर्ण निर्णय लिने पनि जानकारी दिनुभयो। ‘बैठकको समापनमा यो विषयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीज्युले अन्तिम बैठकको अन्तिमा सम्वोधन गदौ केही महत्वपूर्ण निर्णय लिने अपेक्षा गरेका छौँ।’