अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटि बैठक

कर्णाली नेताको एकै स्वर: मिसन-८४ सफल पार्न केपी ओलीकाे नेतृत्व, एमाले एकताबद्ध

कर्णाली नेताको एकै स्वर: मिसन-८४ सफल पार्न केपी ओलीकाे नेतृत्व, एमाले एकताबद्ध


काठमाडौँ-नेकपा एमालेको जारी नवौँ केन्द्रीय कमिटी बैठकमा कर्णालीको एकताबद्ध भएर प्रस्तुत भएको छ।
बैठकमा प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफलमा भाग लिदै कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले मिसन-८४ सफल बनाउनका लागि एकताबद्ध एमालेको विकल्प भएको बताएका हुन्।

पार्टी मुख्यालय च्यासल ललितपुरमा बैठकको दोस्रो दिन आफना धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरूले पछिल्लो समय पार्टीभित्र देखिएको विवादले आगामी निर्वाचन सफल नहुने भन्दै सिङ्गो पार्टीलाई एकताबद्ध बनाउन जोड दिए।

कर्णाली प्रदेशका दश वटै जिल्लाबाट प्रतिनिधित्व गर्ने अधिकांश केन्द्रीय सदस्यहरूले ‘समृद्ध नेपाल सुखी नेपाली’को दीर्घकालीन लक्ष्य प्राप्तिका लागि एमालेको एकल बहुमत आवश्यक पर्ने र त्यसका लागि मिसन-८४ उत्तम मौका भएकाले पार्टी आन्तरिक किचलोमा फस्न नहुने तर्क गरेका छन्। 

पार्टी नेतृत्व रक्षाका लागि एकताबद्ध देखिएको कर्णालीले केही दिनयता पार्टीका पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपति पार्टी काममा फर्कने विषयलाई लिएर सामाजिक सञ्जाल मार्फत आम नागरिकमा भ्रम छर्ने काम भइरहेको उल्लेख गर्दै उक्त विवाद समाधानको लागि नेतृत्व लिन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिनुभयाे।

व्यवस्था बचाउन पूर्व राष्ट्रपतिले रहर नगर्नू

नेताहरूले लामो राजनीतिक सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि पनि पूर्व राष्ट्रपतिले सक्रिय राजनीतिमा रहर नगरेर सम्मानित भएर बस्नुपर्ने धारणा राखेका छन् । 

देशको शिखरमा पुगेको व्यक्ति फेरि तल ओर्लिनु राम्रो नभएको बताउनुहुँदै केन्द्रीय सदस्य निरज आचार्यले भन्रभयाे, ‘पूर्व राष्ट्रपति राजनीतिक दल विशेषको सक्रिय भूमिकामा फर्कने विषय आजको बहसको केन्द्रमा छ। कानुनी रूपमा हेर्दा, अरू कुनै नागरिक जस्तै उहाँलाई पनि राजनीति गर्ने अधिकार छ। तर, यो केवल कानुनी प्रश्न मात्र होइन, यो त राजनीतिक र नैतिक प्रश्न पनि हो । हामीले अवलम्बन गरेको गणतन्त्रमा राष्ट्रपतिको पद केवल कर्मकाण्डी औपचारिकता मात्र होइन- यो गणतन्त्रको गौरवको प्रतीक हो, सिङ्गो राजनीतिक प्रणालीको गजुर हो। कुनै पनि व्यक्ति त्यस शिखरमा पुगी फेरी ओर्लिएर पुनः दलगत राजनीतिमा फर्कनु गणतन्त्रको संस्कार र पद्धति हैन।’

सैद्धान्तिक रूपमा हेर्दा, जर्मनी, भारत वा इटाली जस्ता देशमा पनि पूर्व राष्ट्रपतिहरूले प्रायः निष्कलंक, तटस्थ र गरिमामय सार्वजनिक जीवन रोज्ने गरेको उल्लेख गरेका आचार्यले राष्ट्रको सर्वाेच्च पदबाट बोलिएका प्रत्येक शब्दले सम्पूर्ण जनताको प्रतिनिधित्व गर्ने भएकाले एमाले जस्तो जिम्मेवार दलले यसबारे स्पष्ट निर्णय लिनुपर्नेमा जोड दिनुभयाे।

बैठकमा अर्का केन्द्रीय सदस्य नगेन्द्र शाही (नेशनल)ले आगामी मिसन ८४ लाई लक्षित गरी केपी ओलीकै नेतृत्वमा सफल पार्ने निर्णय गर्न जरुरी रहेको बताउनुभयाे। बैठकमा राख्ने अधिकांश केन्द्रीय सदस्यहरुको भावलाई बुझेर पनि पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन हुन्न र आउने कुरा एमालेका निम्ति फाइदा पुगेपनि देश र गणतन्त्रका निम्ति फाइदा हुँदैन भन्ने यो बैठकले निष्कर्ष निकाल्नु पर्नेमा जोड दिए ।

मिसन-८४ सफल पार्न ओली नेतृत्व अनिवार्य 

केन्द्रीय सदस्य मोहनमाया ढकालले मिसन ८४ सफल पार्न केपी शर्मा ओली नेतृत्वको विकल्प नरहेको बताउनुभयाे।  

‘उहाँ (ओली)को नेतृत्वले हाम्रो पार्टी एमालेको पहिचान बदलिएको छ। जनस्तरमा आशा पलाएको छ। अब मिशन ८४ मा एमालेलाई एकल बहुमत पुर्याउनका लागि पनि एमालेको नेतृत्वमा ओलीको विकल्प नसोचौं’ केन्द्रीय सदस्य ढकालले भन्नुभयाे, ‘२०५६ देखि २०७० सम्मको राजनीतिक संक्रमणको समयमा एमालेको नेतृत्वले सही निर्णय गर्न नसक्दा पार्टी निकै कमजोर भयो जब २०७१ मा सम्पन्न नवौं महाधिवेशनपछि ओली पार्टीको नेतृत्वमा आउनुभयो त्यसपछि एमालेले राष्ट्रिय राजनीतिलाई नै नेतृत्व दिएको छ, अझै पनि एमालेले समृद्ध नेपालको नेतृत्व गर्नुपर्ने छ। त्यसैले ओलीको विकल्पमा कल्पना समेत नगरौं।’

एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहले पछिल्लो समय पार्टी नेतृत्व गर्ने विषयमा आएका सबै समस्याको समाधानका लागि आसन्न एघारौँ महाधिवेशन सार्नुपर्ने माग गर्नुभयाे। महाधिवेशन गर्दा पार्टी भित्रको आन्तरिक तिक्तता बढ्ने तर्फ सङ्केत गरेका अध्यक्ष शाहले भन्नुभयाे, ‘८४ को मिसन सफल पार्न सिङ्गो पार्टी एकताबद्ध हुनुको विकल्प छैन, महाधिवेशन गर्ने हो भने पार्टी भित्र असन्तुष्टि बढ्न सक्छ । त्यसैले पार्टीको आसन्न एघारौँ महाधिवेशन २०८४ पछि सारेर जाऔँ ।’

कर्णाली प्रदेशका दश वटै जिल्लाबाट एमाले केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने झण्डै तीन दर्जन केन्द्रीय सदस्य रहेका छन्। 

केपी ओली विनाको एमालेको परिकल्पना गर्न नहुने बताएका केन्द्रीय सदस्य निरज आचार्यले नेतृत्वको उमे हद किटान गरिएको विधानको धारा ६४ खारेज गर्नुपर्ने माग गर्नुभयाे। उमेरले त्रियाशिलतामा फरक नपार्ने उल्लेख गर्दै आचार्यले भन्रभयाे, ‘उमेरले क्रान्ति गर्दैन कमरेडहरु, क्रान्ति सही बिचार, दृष्टिकोण, पहलकदमी र सक्रियताले गर्ने हो। राजनीतिमा उम्मेर हद यो कुनै सिद्धान्तको विषय हैन । राजनीतिलाई अगाडि बढाउन विधान बनाएर आवश्यक प्रबन्ध गरिन्छ। विधानमा के राख्ने ? के नराख्ने कुरा तत्कालीन राजनीतिक अवस्थाले निर्धारण गर्दछ । हिजो एउटा सन्दर्भमा राखियो आजको अवस्थामा हाम्रो पार्टीमा उमेर हद लगाउनु पर्ने कुनै बस्तुगत कारण र आवश्यकता छैन । आज हामी जसको नेतृत्वमा पार्टीलाई नयाँ उचाईमा पुर्याउने सोच राखरिहेका छौँ, त्यो नेतृत्वलाई विधानको परपञ्चले रोक्न खोज्ने होइन, बरु विधान त मार्गदर्शन गर्ने माध्यम हुनुपर्छ । त्यसैले धारा ६४ हटाउने प्रस्ताव पूर्ण रूपमा युक्ति संगत र आवश्यक छ । फेरी यो धारा हटाउँदा नेतृत्वमा आउन चाहनेहरुलाई लोकतान्त्रीक प्रक्रिया बाट चुनिन कुनै रोकटोक हुनेछैन ।’

कर्णालीबाट प्रतिनिधित्व गर्ने स्थायी कमिटि सदस्य यमलाल कँडेल र गोरख बहादुर बोगटी, स्थायी कमिटि सदस्य भैरवसुन्दर श्रेष्ठ, मोहन बानिया, लक्ष्मी पोखरेलले पोलिटब्यूरो एकताबद्ध एमालेको पक्षमा बैठमा आफना धारणा राखेका थिए । सोमबारदेखि शुरु भएको बैठकमा अधिकांश केन्द्रयि सदस्यले मौखिक रुपमा आफना भनाई राखेका थिए भने केन्द्रीय सदस्य सिपी घर्तीले लिखित रुप्मा आप्mना धारणा राखेको एमाले स्रोतले जनाएको छ।