अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् बैठकका १० निर्णय (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका १० निर्णय (सूचीसहित)


काठमाडौँ-मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय बुधबार सार्वजनिक गर्नुभएको हो।

सञ्चारमन्त्री गुरुङले नायब महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले २०८२/४/२ देखि लागु हुने गरी पेस गर्नुभएको स्वैच्छिक अवकाश स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिनुभयो ।

यस्ता छन् साउन ४ गते मन्त्रिपरिषद्ले गरेका १० निर्णय:

– २०८२ साउन १३ देखि १५ गतेसम्म भुटानको राजधानी थिम्पुमा आयोजना हुने ‘प्रोमोटिङ एग्रोइकोलोजिकल एप्रोच्‌स् फर सस्टेन्बल ट्रान्सफर्मेसन अफ एग्री-फुड सिस्टम इन साउथ एसिया’ कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका माननीय सदस्य गंगादत्त अवस्थीलाई स्वीकृति प्रदान गर्ने।

– चीन सरकारबाट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्नेसम्बन्धी लेटर एक्सचेन्जमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने। 

– विश्व बैंकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने। 

– २०८२ साउन ८ देखि १० गतेसम्म चीनको सानदोङ प्रान्तमा आयोजना हुने ‘२०२५ इन्टरनेसनल कन्फ्रेन्स अन रिडकिङ फुड लस एन्ड वेस्ट’मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने। 

– २०८२ साउन १२ र १३ गते इथियोपियामा आयोजना हुने ‘सेकेन्ड युनाइटेड नेसनल फुड सिस्टम स्टोकटेक’ (यूएनएफएसएस प्लस फोर) मा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।

-२०८२ साउन ६ गते नयाँ दिल्लीमा आयोजना हुने नेपाल-भारत गृह सचिवस्तरीय बैठकमा नेपालको तर्फबाट गृह सचिव गोकर्णमणि दुवाडी नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने।

-भारतीय सेनाले आयोजना गर्ने १३४औँ एडिसन अफ ड्युरान्ड कप फुटबल टुर्नामेन्ट २०२५ कप ओपनिङ सेरेमनी र र नेपाली सेनाको फुटवल टिमको ओपनिङ म्याचमा २०८२ साउन ७ र ८ गते सहभागी हुन नेपाली सेनाका उपरथी ध्रुवप्रकाश शाहलाई स्वीकृति दिने। 

-नेपाली सेनाका एक जना सहायक रथीलाई अवकाशपूर्व उपरथी दर्जामा मानार्थ बढुवा गर्ने।

– वन तथा वातावरण २०८२ साउन ७ देखि १५ गतेसम्म जिम्बावेमा आयोजना हुने १५औँ मन्त्रालय मिटिङ टु द कन्फ्रेन्स अफ द कन्ट्र्याक्टिङ परटाइज टु द कन्भेक्सन अन वेटल्यान्ड्स (कोप १५) कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्री रूपा विकलाई स्वीकृति प्रदान गर्ने।

-नायब महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले २०८२/४/२ देखि लागु हुने गरी पेस गर्नुभएको स्वैच्छिक अवकाश स्वीकृत गर्ने।