रामेछाप-नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले नेकपा एमाले विधान महाधिवेशनको संघारमा रहेकोले पार्टीको विधान र नीति बारे व्यापक छलफल हुन आवश्यक रहेको बताउनु भएको छ।
नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७औँ स्मृति दिवसको अवसरमा बुधबार नेकपा एमाले रामेछाप नगरपालिका कमिटीको व्यवस्थापन तथा नेकपा एमाले रामेछाप र राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल वाग्मती प्रदेश कमिटीद्वारा उहाँको जन्मथलो रामेछापको भँगेरीमा आयोजित कार्यक्रमलाई बुधरबार सम्बोधन गर्दै नेता ढुङ्गेलले पार्टी केन्द्रीय कमिटी बैठकले पास गरेका निर्णयलाई अब कार्यकर्ता तहसम्म छलफलमा लगी सुझाव सङ्कलन गरिने बताउनुभयो। एमाले लोकतान्त्रिक पार्टी भएकोले पार्टी भित्रका हरेक निर्णय छलफलबाट मात्रै हुने ढुङ्गेलले स्पष्ट पार्नुभयो।

पार्टी भित्र अनुशासन हुने बताउँदै उहाँले अनुशासनले नै पार्टीलाई एकताको धागोमा बाँध्ने बताउनुभयो। ’निर्णय पूर्व व्यापक छलफल हुन्छ, निर्णय भएपछि कार्यान्वयनमा जानु सबै पार्टी सदस्यको दायित्व हो’, उहाँले भन्नुभयो।
नेकपा एमालेले राजनीतिक स्थायित्व शान्तिको अवधारणा अघि सारेको बताउँदै उहाँले त्यसकै लागि मिसन २०८४ भनेको स्पष्ट पार्नुभयो। ‘राजनीतिक स्थायित्वबाट मात्र हामीले चाहेको पूर्ण शान्ति प्राप्त हुन्छ, यसको लागि कम्तीमा ५ वर्षसम्म एउटै राजनीतिक दलले शासन सञ्चालन गर्नुपर्दछ, कम्तीमा ५ वर्ष एमालेले सत्ता चलाउन पायो भने नेपाली जनताले वास्तविक रूपमा एमालेलाई चिन्ने छन्, त्यसका लागि हामीले मिसन २०८४ भनेका छौँ, हामीले केपी ओलीको नेतृत्वमा देशको विकासलाई उचाइमा पुर्याउने सङ्कल्प गरेका छौँ’, उहाँले भन्नुभयो।
ढुङ्गेलले देश र जनताको उन्मुक्तिको लागि कम्युनिष्ट पार्टी चाहिन्छ भनेर पुष्पलालले कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको बताउनुभयो । देशको राजनीतिक चुच्चे नक्सा जारी गर्ने, नेपालको सीमाको विषयमा कुरा उठाउने होस् वा राष्ट्रियताको विषयमा आवाज उठाउने पार्टी नेकपा एमाले नै भएको ढुङ्गेलले बताउनुभयो ।
आफ्नो जीवनकालमा पार्टी भित्रैबाट कुनै न कुनै आरोप खेप्नु भएका पुष्पलाल आज सबै कम्युनिष्टका आदर्श पात्र बन्नुभएको बताउँदै उहाँले जीवनकालमा राम्रा काम गर्ने मानिसले सधैँ आलोचना खेप्नु पर्ने विडम्बना रहेको बताउनुभयो । त्यही अवस्था अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले भोगिरहनु भएको उहाँको धारणा छ ।






प्रतिक्रिया