सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अघिल्लो आर्थिक वर्षमा देखिएका कमजोरी र चुनौतीबाट शिक्षा लिँदै चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनु भएकाे छ। आज सुर्खेतमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले आयोजना गरेको वार्षिक समीक्षा तथा तथा कार्ययोजना तर्जुमा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले योजना केवल कागजमा सीमित नरहोस् भनेर समयमै र परिणाममुखी ढङ्गले कार्यान्वयन गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयाे ।

मुख्यमन्त्री कँडेलले भन्नुभयाे, ‘हामीले विगतमा केकस्ता कमजोरी गरेका थियौँ, त्यसको आधारमा आगामी बजेट कार्यान्वयनमा ध्यान दिनु पर्छ।’ मुख्यमन्त्री कँडेलले बजेट निर्माणदेखि कार्यान्वयनसम्मको प्रत्येक चरणमा पारदर्शिता, जवाफदेहिता र समन्वय हुनुपर्नेमा पनि जोड दिनुभयाे। योजनाको कार्यान्वयनमा ढिलाइ, रकम खर्चको असन्तुलन, अनुगमनको कमजोरी र गुणस्तरहीन निर्माण कार्य जस्ता चुनौतीहरूको पुनरावृत्ति नहुने वातावरण बनाउन सचिव र कार्यालय प्रमुखलाई निर्देशन दिनुभयाे।
जनताको आवश्यकता बुझेर योजना बनाए मात्र जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्न सकिने मुख्यमन्त्री कँडेलको भनाई थियो। संघिय, स्थानीय तह, मन्त्रालय, आयोजना कार्यान्वयन एकाइहरूबीचको समन्वय बलियो बनाउँदै अनुगमन प्रणालीलाई अझ प्रभावकारी बनाउने हो भने मात्र सरकारले गरेको विकासको जनताले अनुभुति गर्ने मुख्यमन्त्री कँडेलको भनाई थियो।
कार्यक्रममा मन्त्री, राज्यमन्त्री, मन्त्रालयका सचिव, विभागीय प्रमुख, जिल्लाका कार्यालय प्रमुखको उपस्थिति रहेको थियो। सहभागीहरूले योजना कार्यान्वयनमा देखिएका व्यवहारिक समस्याहरू र सम्भावित समाधानका उपायहरू प्रस्तुत गरेका थिए।







प्रतिक्रिया