झापा-प्रतिनिधि सभा सभामुख देवराज घिमिरेको विशेष पहलमा बिर्तामोड नगरपालिका–८ का ज्येष्ठ नागरिकलाई लौरो वितरण गरिएको छ। अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य एवं सभामुख पत्नी टिका देवी बस्नेत घिमिरेमार्फत १०० जना ज्येष्ठ नागरिकहरुलाई लौरो वितरण गर्नुभएको हो ।
बिर्तामोड–८ को ज्येष्ठ नागरिक भवनमा आयोजित कार्यक्रम किशोर भट्टराईको अध्यक्षतामा सम्पन्न भयो भने प्रमुख अतिथि सभामुख पत्नी टिका देवी बस्नेत घिमिरेको आतिथ्य रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले ज्येष्ठ नागरिकहरू समाजको आधार र प्रेरणा भएको उल्लेख गर्दै उहाँहरूको सेवा र सम्मान गर्नु सबैको दायित्व भएको बताउनु भयो । “हामीले बिर्तामोडका आदरणीय आमाबुबालाई सहाराको रूपमा लौरो हस्तान्तरण गर्न पाउँदा गर्व महसुस गरेका छौँ,” उहाँले भन्नुभयो ।घिमिरेले सभामुखले आफ्नो तर्फबाट ज्येष्ठ नागरिकको जीवनमा सानो भए पनि साहारा होस भनेर लौरो वितरणको चाहना राख्नु भएको बताउनुभयो । हरेक घरघरमा ज्येष्ठ नागरिक बढ्दै गएकोले उनीहरुको स्याहार,संम्भारका लागि समाज सचेत हुनुपर्दछ भन्ने विषयमा सभामुख संवेदनशिल हुनु भएको उहाँले बताउनुभयो ।
नगरप्रमुख पवित्रा महतारा प्रसाईंले नगरपालिकाले पनि ज्येष्ठ नागरिकहरूको स्वास्थ्य, सम्मान र हेरचाहलाई प्राथमिकतामा राखेको बताउँदै यस्ता सामाजिक सेवाका कार्यक्रममा स्थानीय सरकारको निरन्तर सहकार्य रहने प्रतिबद्धता जनाउनु भयो ।
त्यसैगरी, समाजसेवी सुभास भट्टराईले सभामुख देवराज घिमिरे र उहाँकी धर्मपत्नीको सामाजिक चेतना प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता कार्यहरूले समाजमा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो ।
लौरो पाएपछि ज्येष्ठ नागरिक श्रीप्रसाद नेउपानेले आफूलाई हिडडुल गर्ने सहज हुने बताउनुभयो ।
ज्येष्ठ नागरिकप्रति यस्तो प्रकारको सम्मान जनाउने कार्य गर्नु हामीले जिताएका जनप्रतिनिधीको सामूहिक जिम्मेवारी भएको उपस्थित एक बृद्धले बताए। कार्यक्रममा सञ्चालन सभामुखका सचिवालय हिमाल मैनाली गर्नुभएको थियो ।







प्रतिक्रिया