काठमाडौं-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल सदैव शान्ति र अहिंसाको पक्षमा रहेको बताउनुभएकाे छ। प्रवासी नेपाली मञ्च इजरायलको तेस्रो राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई इजरायलबाट सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले हिंसा र आतंकवादको कुनै पनि प्रकारलाई नेपालले विरोध गर्ने स्पष्ट पार्नुभयाे ।
उपमहासचिव ज्ञवालीले इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका नेपालीहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै हालसम्म बेपत्ता रहेका विपिन जोशीको खोजीमा नेपाल सरकार र इजरायल सरकार सक्रिय रहेको जानकारी दिनुभयाे। “म आशा गर्छु विपिन जोशी सकुशल फर्कने छन् र उहाँको बाटो कुर्दै गरेका परिवारजनले राहत महसुस गर्नेछन् । नेपाल सरकार उहाँहरूको साथमा छ,” उपमहासचिव ज्ञवालीले भन्नुभयाे ।
उपमहासचिव ज्ञवालीले नेपाल र इजरायलबीच झण्डै ७० वर्षदेखि मित्रता रहेको स्मरण गराउँदै भन्नुभयाे, ‘इजरायल आफ्नो सैन्य शक्तिमा भरोसा गरेर आफ्नो देश रक्षा गरिरहेको छ भने नेपाल शान्ति र कूटनीतिक माध्यमबाट राष्ट्रिय स्वाभिमान जोगाइरहेको छ।’
उपमहासचिव ज्ञवालीले इजरायलले नेपालीलाई रोजगारी दिएर गुन लगाएको बताउनुभयाे। नेपालले पनि इजरायललाई सहयोग गर्ने प्रतिबद्धता ज्ञवालीले जनाउनुभयाे। “नेपाल दक्षिण एसियामा पहिलो देश हो जसले इजरायललाई मान्यता दिएको हो,’ ज्ञवालीले भन्नुभयाे।
वर्तमान सरकारमा दुई ठूला दल एमाले र कांग्रेसबीच सहकार्यले देशमा राजनीतिक स्थिरता र आर्थिक सुधार आएको बताउँदै उपमहासचिव ज्ञवालीले दुवै दल प्रतिष्पर्धी मात्र नभई देश परिवर्तनका सहयात्री भएको स्पष्ट पार्नुभयाे। ‘यो सहकार्य राजनीतिक स्थिरताका लागि हो र अर्थतन्त्र विकासका लागि हो,’ उपमहासचिव ज्ञवालीले भन्नुभयाे।
उपमहासचिव ज्ञवालीले अस्थिरता अन्त्य गर्न आगामी निर्वाचनमा एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताउँदै देशमा आशा र विश्वासको वातावरण बढ्दो रहेको उल्लेख गर्नुभयाे । उहाँले नेपालको प्रगति विश्वका लागि उदाहरणीय भएको र नेपाल कठिनाइ सामना गर्दै अघि बढ्न सक्ने राष्ट्र भएको उल्लेख गर्नुभयाे।






प्रतिक्रिया